धुरझन्नामा ३ सय बढीको निःशुल्क आँखा परीक्षण
धनगढी उपमहानगरपालिका–१७ धुरझन्नाका स्थानीय आफ्नै गाउँमा आँखाको उपचार पाउँदा खुशी भएका छन् ।बुधबार आयोजना गरिएको एक दिने निःशुल्क आँखा शिविरमा आँखा उपचार पाउँदा खुशी भएका हुन ।
गाउँमा आएर स्वास्थ्यकर्मीले आँखाको परीक्षण गर्नुका साथै निःशुल्क औषधि वितरण गरेपछि खुशी लागेको स्थानीय चक्रबहादुर चौधरीले बताए ।‘यहाँ उपचार गराउन पाउँदा धनगढी वा गेटा जानू परेन’, उनले थपे । ‘यहाँ औषधि र कसै कसैलाई चश्मा पनि मिलेको छ ।’
धनगढी उपमहानगरपालिका, चौधरी फाउण्डेशन, लायन्स क्लब अफ धनगढी एभ्रेष्ट र च्यारिटी फाउण्डेशनको आयोजनामा निःशुल्क आँखा शिविर आयोजना गरिएको हो । शिविरमा प्राविधिक सहयोग धनगढी नेत्रालयले गरेको थियो ।
शिविरमा २२० जना महिला र १२० जना पुरुष गरी ३४० जनाको आँखाको परीक्षण गरिएको र सबैलाई निःशुल्क औषधि पनि दिइएको चौधरी ग्रुपका सुदूरपश्चिम प्रदेश प्रशासक स्माइल चौधरीले जानकारी दिए ।
उनका अनुसार परीक्षण गरिएकामध्ये ६० जनामा मोतिबिन्दु देखिएकाले अपरेशनका लागि सिफारिस गरिएको छ । धनगढी नेत्रालयमा उनीहरुको निःशुल्क शल्यक्रिया हुने जनाइएको छ । यसैगरी, नजिक देख्न समस्या हुने ७१ जनालाई शिविर स्थानमै निःशुल्क चश्मा प्रदान गरिएको छ ।
शिविरमा वडा नम्बर १७ का पथरी लगायत अरु गाउँका स्थानीयलेसमेत आँखाको उपचार गराएका छन् ।निःशुल्क आँखा शिविरमा धनगढी नेत्रालयका दृष्टि विशेषज्ञ आशिष पाण्डेयको नेतृत्वमा प्राविधिकहरुको टोलीले आँखा परीक्षण गरेको थियो ।
यसैगरी, नेत्र सहायकहरु नरेश चौधरी, मेलिना मडै, दीक्षा जोशी, संगीता बम, अप्टिकल सहायक हेमा चन्दले सेवा प्रदान गरेको शिविर संयोजक त्रैलोक्यनाथ पाण्डेयले जानकारी दिए ।निःशुल्क आँखा शिविरमा धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वड, वडा नम्बर १७ का वडा अध्यक्ष माधवराज राना लगायतको उपस्थिति रहेको थियो । सो क्रममा नगर प्रमुख वडले धनगढी उपमहानगरपालिकाको अरु वडामा पनि निःशुल्क आँखा शिविर सञ्चालन गरिने बताए ।
६ असोज २०७८, बुधवार १८:५३ बजे प्रकाशित













