मुक्त हलिया परिवारको पुन:स्थापनाका लागि प्रदेश सरकारले जोड दिएको छ : मुख्यमन्त्री भट्ट
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले मुक्त हलिया परिवारको पुनस्स्थापनाका लागि प्रदेश सरकारले जोड दिएको बताएका छन् । कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ९ सीताबस्तीमा राष्ट्रिय मुक्त हलिया समाज महासंघ नेपालले सोमबार आयोजना गरेको १३ औँ हलिया मुक्ति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री भट्टले संघीय सरकार र स्थानीय तहहरूसँग समन्वय गरी प्रदेश सरकारले मुक्त हलियाका समस्या समाधान गर्ने बताएका हुन् ।
सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लाहरूमा पुनःस्थापना हुन छुट भएका मुक्त हलिया परिवारहरूको विवरण रुजु गरी पुनर्लेखन गर्ने कुरामा प्रदेश सरकार सकारात्मक रहेको मुख्यमन्त्री भट्टले बताए । उनले मुक्त हलिया परिवारका सदस्यलाई स्वरोजगार बनाउन र व्यवसाय गर्नका लागि सहुलियत ऋण उपलब्ध गराउने प्रदेश सरकारको नीति तथा कार्यक्रमलाई यथाशीघ्र कार्यान्वयन गरिने प्रतिबद्धता जनाउनु भएको छ ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री मान बहादुर सुनार, पूर्वसांसद हरी श्रीपाइली लगायत स्थानीय जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवालाहरूको उपस्थिति रहेको राष्ट्रिय मुक्त हलिया समाज महासंघ नेपालका अध्यक्ष ईश्वर सुनारले जानकारी दिए । वि.सं.२०६५ भदौ २१ गतेका दिन नेपाल सरकारले हलिया मुक्तिको घोषणा गरेको थियो ।
हलिया मुक्तिको घोषणा भएको १३ वर्ष पूरा हुँदा समेत अझै सबै मुक्त हलिया परिवारहरूको पुनस्स्थापना गर्न सकिएको छैन । यद्यपि पछिल्लो समयमा सम्बन्धित स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारले गरी मुक्त हलियाहरूको पुनःस्थापना र व्यवस्थापनको विषय प्रत्येक वर्ष बजेट, नीति तथा कार्यक्रममा समावेश गरेको पाइन्छ ।
२१ भदौ २०७८, सोमवार १८:४० बजे प्रकाशित































