मुख्यमन्त्री भट्टद्वारा गौरा पर्वको अवसरमा शुभकामना
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले गौरा पर्वको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।
सोमबार बिहान लिखित शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री भट्टले सुदूरपश्चिम प्रदेशमा मौलिक रूपमा मनाइने धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको गौरा पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण प्रदेशवासीहरूमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ ।
शुभकामना सन्देशमा उहाँले परापूर्व कालदेखि मनाउँदै आएको गौरा पर्व सुदूरपश्चिम प्रदेशको विशिष्ट पहिचान समेत रहेको उल्लेख गर्नुभएको छ । सदियौँदेखि मनाउँदै आएको गौरा पर्वले आफ्नो मौलिकता कायम राख्न सफल भएको मुख्यमन्त्री भट्टको भनाइ छ ।
कोरोना सङ्क्रमणको महामारीबाट उत्पन्न परिस्थितिमा स्वास्थ्य सम्बन्धी मापदण्ड अपनाउँदै आपसी समझदारी र बन्धुत्वको भावना जगाई गौरा पर्वलाई खुसीयालीका साथ मनाउनु हुने विश्वास लिएको शुभकामना सन्देशमा उल्लेख छ ।
मुख्यमन्त्री भट्टले गौरा पर्वले प्रदेशवासी बिच सद्भाव तथा एकता कायम रहोस् भन्ने कामना समेत गर्नुभएको छ ।

१४ भदौ २०७८, सोमवार १२:४३ बजे प्रकाशित































