महेन्द्रनगरमा १० करोडको लगानीमा मार्ट सञ्चालन
कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा करिब १० करोडको लगानीमा गार्डेन मार्ट डिपार्टमेन्टल स्टोर सञ्चालनमा ल्याइएको छ । शिव शिखर बहुद्देश्यीय सहकारी संस्था लिमिटेडले महेन्द्रनगरको चम्मन चौराहमा डिपार्टमेन्टल स्टोर स्थापना गरेको हो ।
कञ्चनपुरमा पहिलो पटक सहकारीले स्थापना गरेको डिपार्टमेन्टल स्टोरको शनिवार बिहान एक कार्यक्रमकाबीच उद्घाटन गरिएको छ । सहकारीका माध्यमबाट स्थानीयस्तरमा रोजगारी सृजना गर्ने उद्धेश्यले स्टोर स्थापना गरिएको शिव शिखर बहुद्देश्यीय सहकारी संस्था लिमिटेड सुदूरपश्चिमका प्रबन्धक हेमराज जोशीले बताए ।
स्थानीयस्तरमा रोजगारी सृजना गर्नुका साथ साथै सहकारीलाई दरिलो बनाउनका लागि आफ्नै व्यापार सुरु गरेको छौँ,’ उनले भने, ‘यहाँका मानिसले रोजगारी पाएका छन् । यसबाट यो ठाउँको समग्र विकासमा पनि टेवा पुग्ने विश्वास लिएका छौँ ।’
स्टोमार दैनिक उपभोग्यका सामान, कस्मेटिक, भाडाकुडा, लत्ताकपडा, इलेक्ट्रोनिक सामान लगायत सम्पूर्ण घरायसी प्रयोजनका सामान उपलव्ध हुने जोशीको भनाई छ ।सुदूरपश्चिममा गार्डेन मार्ट डिपार्टमेन्टल स्टोरको यो दोस्रो शाखा हो । यस अघि डडेल्धुरामा गार्डेन मार्ट डिपार्टमेन्टल स्टोर स्थापना गरिएको थियो ।
१२ भदौ २०७८, शनिवार १६:१८ बजे प्रकाशित































