परिस्थितिले जोडिएका सुदूरपश्चिमका दुई हस्ती : अब रहेन जनाधार
सुदूरपश्चिम प्रदेशबाट कम्युनिष्ट धारका प्रभावशाली नेता हुन् भीम रावल र लेखराज भट्ट । जसले विगतमा प्रदेशबाट फरक–फरक पार्टीको नेतृृत्व गर्दै आएका थिए । अहिले राजनीतिक परिस्थितिले रावल र भट्ट एउटै पार्टी नेकपा एमालेमा छन् । विगतमा रावलले सुदूरपश्चिमबाट नेकपा एमाले र भट्टले माओबादी केन्द्रको नेतृत्व गर्थे ।
एमाले र माओबादी केन्द्रबीच एकता भएपछि बनेको नेकपा बनेयता रावल र भट्ट एउटै पार्टीमा रहेका हुन् । दुई पार्टी एकतापछि बनेको नेकपा दुई वर्ष पनि एक हुन सकेन । नेकपामा देखिएका दुई धारले पार्टी ठूलो विवादमा फस्यो । पार्टीमा अध्यक्ष केपी शर्मा ओली समूह र माधव नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’ समूह बने ।
तत्कालिन प्रधामन्त्रीसमेत रहेका ओलीले उपेन्द्र–महन्थको तत्कालिन जसपा पार्टी विभाजनका लागि अध्यादेश ल्याएदेखि उत्पन्न भएको विवादले पार्टी विवादमा फस्दै गयो । जसले गर्दा नेताहरु पनि विभाजित बने । जसमा नेता रावल र भट्ट पनि दुई धारमा विभाजित भए । भट्ट ओलीतिर लागे भने रावल नेपाल–प्रचण्ड पक्षमा लागे ।
भट्ट तत्कालिन अवस्थामा ओली सरकारमा मन्त्रीसमेत थिए । कतिपयले मन्त्री पदकै लोभमा भट्टले ओलीलाई रोजे भन्ने आरोप पनि लागेको थियो । त्यसबेला माओबादी केन्द्रबाट प्रतिनिधित्व गर्ने अन्य मन्त्रीहरु भने फिर्र्ता भएका थिए ।
पार्टी एकीकरण हुनुअघि विचार फरक भएर अलग–अलग पार्टीमा रहेका रावल र भट्ट एउटै पार्र्टीमा आइसक्दा पनि एकै खेमामा उभिन सकेनन् । दुई समूहमा एक अर्कोको विरोधमा खह्रो रुपमा सडकमा आउँदा यी दुई नेताले पनि एक अर्कोको विरोधमा शब्द खर्च गरे । पछि निर्वाचन आयोगले दुई पार्टीलाई पूर्ववत अवस्थामा फर्काउँदा पनि भट्ट आफ्नो पार्टी माओबादी केन्द्रमा फर्किएनन् । उनीसहितका केही नेताहरु एमालेमै रहे ।
रावल सम्बद्ध नेपाल समूह भने पार्टी भित्रै संघर्ष गर्ने भन्दै ओलीका गतिविधिविरुद्ध झन कडा रुपमा प्रस्तुत हुँदै गयो । यो समूहले ओली सरकारलाई ढाल्नेसम्मको कदम चाल्यो । अन्ततः ओलीलाई प्रधानमन्त्रीबाट हटाए । पछि देउवा प्रधानमन्त्री भए । केही दिनपछि देउवाले विश्वासको मत लिन लाग्दा नेता रावल भने आफ्नै समूहको निर्र्णयविरुद्ध उभिए ।
पार्टीको विवाद समाधानका लागि कार्यदलले गरेको १० बुँदे ससहमतीअनुसार अगाडि बढ्नुपर्ने प्रस्ताव उनले राखे । त्यसअघि नेपाल समूहबाट विवाद समाधानका लागि रावलकै संयोजकत्वमा कार्यदल बनेको थियो । तर उनको प्रस्ताव नेता समूहले अस्वीकार गर्यो । त्यसपछि उनले देउवालाई विश्वासको मत नदिने बरु राजीनामा दिने भन्दै संसद कार्यालय मिडियासामूह राजीनामा पत्र पढेर फर्किए ।
यद्यपि ओली र नेपालसहित सुदूरपश्चिमका नेता कार्यकर्ताको दबावपछि रावलले केही दिनपछि राजीनामाका लागि संसद सचिवालयमा दिएको राजीनामा पत्र फिर्ता लिए । त्यसयता तटस्थ बस्दै आएका रावल भीम रावलसंग नजिक भइसकेका थिए । यद्यपि उनी खुलेका भने थिएनन् ।
यता नेपाल समूहले नयाँ पार्टी दर्ता गरेपछि भने उनीसहित तटस्थ बसेका १० जना नेताहरु ओलीतिर खुले । यससंगै फेरि रावल र भट्टलाई परिस्थितिले एक ठाउँमा ल्याएको छ । जो कहिल्यै राजनीतिक विचारमा एक ठाउँमा उभिएका थिएनन् । एउटै पार्टीमा आइसक्दा पनि दुई धारमा विभक्त जस्तै भएका थिए । दुई पार्टी मिलेर नेकपा बन्दा सुदूरपश्चिम प्रदेशको इन्चार्जको जिम्मेवारी रावललाई दिइएको थियो ।
उनी भन्दा जुनियर नेताहरु पार्टीको नौ जनाको सचिवालयमा बस्दा आफूलाई प्रदेश इन्चार्ज र स्थायी समितिमै समिति पारेको भन्दै रावल त्यसै असन्तुटि थिए । उनी सुरुवातमा पार्टी एकताको पक्षमा पनि नरहेको भन्ने चर्चा त्यसबेला चलेको थियो ।
जहाँ नेता भट्ट र उनको हैसियत लगभग एउटै रह्यो । नेता रावलको सम्बन्ध पार्टीमा भट्टसंग खासै राम्रो हुन सकेन । पार्टीमा देखिएको विवादका क्रममा पार्टीले उनलाई इन्चार्जबाट हटाएपछि लेखराजलाई इन्चार्जको जिम्मेवारी दिइयो ।
समानान्तर कमिटी चलाएको माधव समूहले रावलनै प्रदेशको इन्चार्ज भएको भन्दै प्रदेश पाटी कार्यालयमा लेखराज भट्टको नामको नेमप्लेट हटाएर आफ्नो नामको नेमप्लेट राख्न लगाएका थिए । जहाँ दुई समूहबीच तनावको अवस्था सृजना भएको थियो । यति हुँदा रावल र भट्टको सम्बन्ध झन चिसिएको थियो । त्यस अगाडिनै रावल अर्को समूहमा लागेपछि भट्ट ओलीतिर लागेको चर्चा चलेको थियो ।
अहिले परिस्थितिले दुई नेता फेरि एकै पार्टीमा देखिएपछि उनीहरुको सम्बन्ध कस्तो होला भन्ने चर्चा हुन थालेको छ । अहिलेको अवस्थामा सुदूरपश्चिम प्रदेश इन्चार्जका रुपमा लेखराज भट्ट छन् । पार्टी २०७५ जेठ २ अगाडिको अवस्थामा गयो भने प्रदेश इन्चार्ज नरहन सक्छ भने नेता रावल उपाध्यक्ष यथावत छन् । अब यी दुई नेता एक ठाउँमा रहँदा एकले अर्कालाई सहयोग गरेर अगाडि बढ्ने भन्दा पनि तल कसरी पार्ने भन्ने नीति लिएर अगाडि बढ्नसक्ने भन्दै चर्चा सुरु भइसकेको छ ।
भीम रावल र लेखराज भट्ट पार्टी एकता पूर्व र पार्टी एकतापछि पनि सुदूरपश्चिम प्रदेशमा निकै प्रभावशाली हुन् । माओबादी केन्द्र हुँदा भट्टको सुदूरपश्चिममा राम्रै छाप थियो । पार्टी एकतापछि नेकपा हुँदा पनि उनको पक्षमा धेरै नेताहरु थिए । रावलसंग असन्तुष्ट नेताहरु पनि भट्टसंग नजिकिएका थिए ।

त्यस्तै नेता रावल पनि प्रदेशमा झन बढी प्रभावशाली थिए । उनी माधव पक्षधर भएकै कारणले पनि सुदूरपश्चिममा उनको ‘दबदबा’ थियो । सुदूरपश्चिम प्रदेशसभामा एमालेका सभामुखबाहेक २४ जना सांसद छन् । जसमध्ये १७ जना उनकै पक्षमा थिए । उनले भनेअनुसार नै सुदूरपश्चिम प्रदेश सरकार चल्थ्यो भन्दा पनि फरक पर्दैन थियो । किनभने भट्ट एमालेमै रहेपछि माआबादी केन्द्रबाट मुख्यमन्त्री बनेका त्रिलोचन भट्ट उनले भनेको मान्नेवाला थिएनन् ।
माआबादी केन्द्र पनि सरकारविरोधी गठबन्धनमा भएकाले सो समयमा महत्वपूर्ण निर्णयहरु रावलले भने अनुसारनै हुने गथ्र्यो । तर अहिले एक्कासी परिस्थिति बदलिएको छ ।
तत्कालिन समयमा प्रभावशाली नेता द्वय रावल र भट्ट अहिले जनाधारविहीन बनेका छन् । जहाँ उनीहरुले आफ्नै विश्वास पात्रलाई पनि आफ्नो पक्षमा ल्याउन सकेनन् । आफ्नै पार्टीमा रहँदैगर्दा पनि रावलले सुदूरपश्चिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने तीन÷चार जना भन्दा बढीलाई आफ्नो पक्षमा लैजान नसक्ने आँकलन गरिएको छ ।
यसअघि उनका विश्वास पात्र मानिएका प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री दीर्घ सोडारीलेसमेत नयाँ पार्टी नेपाल नेतृत्वको नेकपा एकीकृत रोजिसकेका छन् । प्रदेशसभामा सोडारीको राम्रो प्रभाव छ । पार्टी प्रदेशमा पनि अधिकांशले एकीकृत समाजबादी रोज्न लागिरहेको बताइएको छ । स्वयम रावलकै गृहजिल्ला अछामका उनका सबै भन्दा नजिकका विश्वास पात्र शेरबहादुर कुँवरले पनि रावललाई साथ दिन सकेनन् । अछाममा कुँवरको बलियो पकड छ । रावलले आफ्नै गृहजिल्लामा धक्का खाएका छन् ।
आफ्नैले छोडे
आफ्नो पार्टीनै परित्याग गरेर एमालेमै रहेका भट्टको अवस्था झन नयनीय बनेको छ । उनले जब ओलीलाई रोजेका थिए सोही बेलादेखि उनले आफ्नो जनाधार क्षेत्र गुमाइसकेको उनको पूर्वपार्टीकै नेताहरु बताउँछन् । ‘आफ्नै पार्टीमा रहँदा रावलले त आफ्नाहरुलाई लैजान सकेनन् भने पार्टीनै परित्याग गरेका भट्टलाई कसले साथ दिन्थ्यो र रु’ माआबादी केन्द्रका एक नेता बताउँछन् ।
निर्वाचन आयोगले दुई पार्टीलाई पूर्ववत अवस्थामा फर्काएपछि माओबादी केन्द्रका प्रायः नेताहरुले आफ्नै पार्टी फर्किएका थिए । केन्द्रमा भट्टसहितका केही नेताहरु एमालेमै रहेपनि प्रदेश र जिल्ला तहका नेताहरु भने आफ्नै पार्टीमा फर्केका थिए । जसले गर्दा पनि नेता भट्टले आफ्नो पूरानो आधारलाई जोगाउन सकेनन् । भट्टले माओबादीका सुदूरपश्चिमका सबै नेता कार्यकर्तालाई गुमाइनै सकेका छन् । अब दुबै नेताका कार्यकर्ता पनि एउटै हुने भएका छन् ।
एमालेका पनि अधिकांश नेता कार्यकर्ता एकीकृत समाजबादीमा आवद्ध हुन थालेपछि दुबै नेता जनाधारविहिन हुने अवस्थामा पुगेका छन् । निर्वाचन आयोगले २१ दिनभित्र जनप्रतिनिधिलाई पनि आफ्नो दल छनोट गर्न समय दिएको छ ।
११ भदौ २०७८, शुक्रवार १७:५९ बजे प्रकाशित































