चिनियाँ सीमा क्षेत्र टिंकरमा बीओपी बन्दै
दार्चुलाको व्यास गाउँपालिका–१ टिंकर गाउँभन्दा माथि छ्यालेकमा सशस्त्र प्रहरी बलको बीओपी (बोर्डर आउट पोस्ट) निर्माण सुरु गरेको छ । चिनियाँ सीमा क्षेत्र निगरानी गर्नका लागि सरकारले टिंकरमा बीओपी निर्माण सुरु गरेको हो ।
गत आर्थिक वर्षमै निर्माण सम्पन्न गर्नुपर्नेमा असार २५ गते हेलिकप्टरमार्फत सामग्री ढुवानी गरी काम अगाडि बढाएको बताइएको छ । सीमामा बाह्रै महिना सुरक्षाकर्मी बस्ने व्यवस्था हुने गरी भवनको निर्माण भइरहेको छ । यसअघि बर्खाका ६ महिना मात्र उत्तरी क्षेत्रमा सुरक्षाकर्मी रहने गर्थे ।
एक करोड रुपैयाँको लागतमा भवन निर्माण गरिसक्ने गरी धुलिखेल प्याराडाइज एन्ड एलबी निर्माण सेवाले ठेक्का पाएको छ । निर्माण व्यवसायी लालबहादुर बमले टिंकरमा ६ महिनाभित्रै भवन निर्माण सक्ने बताएका छन् ।
‘मंसिरदेखि वैशाखसम्मै हिमपात हुँदा ढुवानीमा अप्ठ्यारो भएकाले निर्माण थाल्न ढिलाइ भयो,’ उनले भने । बमले स्थानीय व्यक्तिलाई बीओपी निर्माणको जिम्मा लगाएका छन् । सरकारले गत वर्ष नै व्यास–१ मा सशस्त्र प्रहरीको एक गुल्म तथा टिंकर र कौवामा बीओपी स्थापना गर्ने घोषणा गरेको थियो ।
व्यासको गागामा गुल्म स्थापना भइसकेको छ । भारतीय सीमा क्षेत्रमा पर्ने कौवामा भने अझै बीओपी निर्माण हुन सकेको छैन ।
१० साउन २०७८, आइतवार २०:१९ बजे प्रकाशित






























