punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

अस्मिताको मृत्यु प्रकरण : पोस्टमार्टममा हत्या, डिएनए रिपोर्ट कुर्दै प्रहरी

Chaupati
safha napa

डडेल्धुराको पर्शुराम नगरपालिका–८ जम्रानीस्थित आधारभूत स्वास्थ्य इकाइ कार्यालयमा कार्यरत अस्मिता धामीको शंकास्पद अवस्थामा शव भेटिएको १३ दिन पुगेको छ।

घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय डडेल्धुरा, संघीय प्रहरी इकाइ कार्यालय र प्रदेश प्रहरी कार्यालयबाट छुट्टाछुट्टै टोली खटिएको भए पनि प्रहरीले घटनाको सत्यतथ्य सार्वजनिक गर्न सकेको छैन।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले अस्मिताको हत्या भएको शंका गरे पनि पोष्टमार्टम रिपोर्टबारे भन्न नमिल्ने बताए। ‘अनुन्धानमा खटिँदा घटनास्थलको अवस्था हेर्दा हत्या भएको शंका छ। पोष्टमार्टम रिपोर्ट आएको छ। तर, मैले भन्न मिल्दैन। त्यो अदालतले भन्ने हो,’ उनले भने।

घटनास्थलमा भेटिएको प्रमाण, भिसेरा, डिएनए काठमाडौं पठाएको र रिपोर्ट आएपछि मात्र थप थाहा हुने उनले बताए। ‘हामी रिपोर्टकै प्रतिक्षामा छौं,’ न्यौपानेले भने।

पर्शुराम नगरपालिका वडा नम्बर ८ का अध्यक्ष गोविन्द बोहराले प्रहरीसँग सोध्दा पोष्टमार्टम रिपोर्टमा हत्या भएको देखाएको बताए। ‘पोष्टमार्टम रिपोर्ट आइसकेको छ। रिपोर्टमा प्रहरीले हत्या भएको बताउँदै आएको छ तर, हत्यारा पत्ता लगाउन सकेको छैन,’ वडाध्यक्षले भने, ‘पोष्टमार्टम रिपोर्टमा हत्या भएको देखाएको छ। भिसेरा र डिएनएको रिपोर्टपछि बलात्कारपछि हत्या हो होइन खुल्छ भनिरहेको छ प्रहरीले।’

पर्शुराम नगरपालिकाका नगर प्रमुख भीमबहादुर साउदले प्रहरीलाई घटनाको सत्यतथ्य छानबिन गर्न दबाब दिइरहेको बताए। ‘हामीले दबाब दिइरहेका छौं। प्रहरीले घटनामा संलग्नको नजिक पुगेको बताएको छ,’ उनले भने।

असार २ गते जम्रानीबाट कोभिडको खोप लिएर जोगबुडा हिँडेकी अस्मिता त्यही दिनदेखि बेपत्ता भएकी थिइन्। ५ गते पर्शुराम नगरपालिका–९ स्थित हट्वानी सामुदायिक वनमा उनको शव भेटिएको थियो।

अस्मिताको साथमा रहेको मोबाइल भने प्रहरीले शव भेटिएको स्थानबाट करिब एक सय मिटर तल असार ८ गते भेटेको थियो।

वडाध्यक्ष बोहराले घटनाको सत्यतथ्य बाहिर नआउँदा गाउँमा त्रास फैलिएको बताए। ‘पोष्टमार्टम रिपोर्टमा हत्या भएको देखाएको छ। तर, हत्यारा नभेटिँदा गाउँलेमा त्रास फैलिएको छ,’ वडाध्यक्ष बोहराले भने। नगरपालिकाले अस्मिता कार्यरत कार्यालयमा सोही पदमा उनका पतिलाई काम दिएको छ। नगर उपप्रमुख कलावतीदेवी बोहराले भनिन्, ‘दुई बच्चाको नाममा १० लाख रुपैयाँ जम्मा गर्ने हामीले निर्णय गरेका छौं।’ अस्मिताका ३ र ६ वर्षका दुई छोरी छन्।


१७ असार २०७८, बिहीवार ११:४२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु