श्रीलंकामा कोरोनाको अहिलेसम्मकै सबैभन्दा खतरनाक प्रकार भेटियो
श्रीलंकामा कोरोना भाइरसको अहिलेसम्मकै सबैभन्दा खतरनाक प्रकार भेटिएको छ । युके भेरियन्टले रुप फेरेर अझ खतरनाक स्वरुप बनाएको श्रीलंकाका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।
सो भाइरस एक घन्टासम्म हावामा रहन सक्ने र अत्यन्तै तिब्र गतिमा फैलने बताइएको छ । कोरोना भाइरसका अहिलेसम्म पाइएका भेरियन्टहरुभन्दा यो मानव स्वास्थ्यका लागि अत्यन्तै घातक हुनसक्ने जनाइएको छ ।
श्रीलंकाका जयवर्दनेप्रा विश्वविद्यालयका इम्युनोलोजी विभागका प्रमुख डा. चण्डिमा जीवनदाराले अन्तराष्ट्रिय सञ्चार माध्यमहरुलाई बताए अनुसार मानिसले खोक्दा तथा हाच्छ्युँ गर्दा निष्कने कणहरुबाट यो भाइरस हावामा फैलन सक्छ र एक घन्टासम्म हावामै रहन सक्छ ।
सो भाइरस हावामा कति टाढासम्म जान सक्छ भन्ने चाहिँ अनुसन्धानकै विषय बनेको छ । सो नयाँ भेरियन्टले श्रीलंकाका युवा तथा बालबालिकालाई संक्रमित बनाएको र अत्यन्तै तिब्र गतिमा फैलिरहेको जनाइएको छ ।
श्रीलंकाको स्वास्थ्य विभाग प्रमुख डा. असेला गुनवद्धेनाका अनुसार संक्रमितहरुमा विगतको भन्दा कडा लक्षण देखिएको छ । संक्रमित भएर अस्पताल आउनेहरुलाई तत्कालै आईसीयू र भेन्टिलेटरमा लैजान परिरहेको उनले जानकारी दिए ।
आइ.एन.ए
१२ वैशाख २०७८, आइतवार १५:४१ बजे प्रकाशित













