आइसोलेसनमा संक्रमित : ‘बस चढेरै घर जाने हो’
सीमा नाकादेखि होम आइसोलेसन पठाउँदासम्म लापरबाही
अहिले भारतबाट स्वदेश आउनेक्रममा सीमा नाकामा कोरोना संक्रमण पुष्टि भएका संक्रमितलाई प्रदेश सरकारको पहलमा आइसोलेसनमा पठाउने गरिएको छ । गौरीफन्टा नाकामा भेटिएका संक्रमितलाई धनगढी उपमहागनरपालिकाको वडा नम्बर १५ कनरीमा बनाइएको आइसोलेसन सेन्टरमा राख्ने गरिन्छ ।
आइसोलेसनमा पुगेका ९० प्रतिशत संक्रमितलाई आफन्तको जिम्मा लगाएर होम आइसोलेसनमा पठाउने पनि गरिएको छ । यसैक्रममा केही दिनअघि भारतको महाराष्ट्रबाट नेपाल फर्किएका कैलालीका तीन जनालाई पनि गौरीफन्टा नाकामा चेकजाँचको क्रममा कोरोना संक्रमण देखियो । सीमा नाकामा अहिले एन्टिजेन विधिबाट परीक्षण भइरहेको छ ।
एन्टिजेन विधिबाट कोरोना संक्रमण भएपछि उनीहरुलाई सीमा नाकाबाट एम्बुलेन्समा राखेर सिधै झण्डै १३ किलोमिटर टाढा रहेको आइसोलेसन सेन्टरमा लगियो । विहानको समयमा आइसोलेसन सेन्टरमा लगिएका उनीहरु केही घण्टामै अटोमा चढेर धनगढी बसपार्क पुगे र त्यहाँबाट आफ्नै तरिकाले सार्वजनिक यातायात (बस)मा चढेर घरतिर लागे ।
त्यसैगरी कैलालीको पूर्वी क्षेत्रमा घर भई भारतबाट आएर सीमा नाकाबाटै सोही आइसोलेसनसम्म पुगेका अन्य केही संक्रमित व्यक्तिहरु पनि अटो चढेर त्यसैगरी चौमालासम्म पुग्यो । कनरीबाट अटोमा छोटो बाटो हुँदै चौमाला राजमार्गसम्म पुगेका उनीहरु त्यहाँबाट भने पूर्वपश्चिम चल्ने सार्वजनिक बसमा चढेर सामान्य तरिकाले गन्तव्यतिर लागे ।
आइसोलेसनमा हुँदा निश्चित दुरी कायम गरेर बसेका उनीहरु केही छिनमानै भरिभराउ भएर चल्ने सार्वजनिक बसमा चढेर यात्रा गर्छन् । न उनीहरुको बारेमा सो बसमा यात्रा गर्ने यात्रुलाई थाहा छ न उनीहरुलेनै भन्छन् । यी दुई प्रतिनिधि घटना मात्रै हो । आइसोलसनबाट फर्किने प्रायः सबै संक्रमितहरु यसरीनै घरतिर लाग्छन् ।

संक्रमितका आफन्त सम्पर्कमा आएपछि उनीहरुलाई सुरक्षित तरिकाले घर पुर्याउने र १० दिनसम्म ‘होम आइसोलेसन’मा बस्ने भन्ने शर्तमा मात्रै आइसोलेसन सेन्टरबाट छोड्ने गरिएको छ । सकेसम्म विहानको समयमा आइसोलेसन सेन्टर पुगेका संक्रमितहरु सोही दिननै आफन्तको जिम्मा लागेर घर लाग्छन् । जसरी आइसोलेसन सेन्टरबाट शर्तअनुसार छोडिन्छ, त्यसरी व्यवहारमा लागु हुँदैन ।
संक्रमितहरु खुला रुपमा सार्वजनिक यातायात चढेरनै बाटो लाग्छन् । यसरी गएकाहरु पनि घरमा गएर सुरक्षित तरिकाले बसेका छन् वा छैनन् भनेर पनि कसैले हेर्दैनन् । प्रायः व्यक्तिहरुलाई भारतबाट आएका कुन व्यक्ति संक्रमित भएका छन् वा छैनन् भन्ने जानकारी पनि हुँदैन ।
सीमा नाकाबाट एम्बुलेन्समा चढेर आइसोलेसनमा पुगेका संक्रमितहरु केही समयपछि भने सार्वजनिक सवारी अटोलगायतका साधनमा चढेर घरतिर जान्छन् । उनीहरुले प्रयोग गरेको अटो रिक्सा केही छिनपछि आम सर्वसाधारणले प्रयोग गर्छन् ।
आइसोलेसन सेन्टरबाट संक्रमितहरु यसरी घरतिर गइरहेका छन् भन्ने जानकारी त्यहाँ कार्यरत कमचारीलगायतलाई थाहा भएपनि थाहा नभएजस्तै गर्छन् ।
आफन्तहरुले पनि आइसोलेसनको अगाडिबाटै विरामीलाई अलग्गै लिएर जस्तो गरेर मुख्य सडकसम्म वा धनगढी बस पार्क लिएर सार्वजनिक यातायातमै चढाएर विरामीलाई घर लैजाने गरेका छन् । ‘हल्ला पो गर्नु हुँदैन, यहाँबाट बसपार्कसम्म मात्रै अटोमा लिएर जाने हो,’ संक्रमित व्यक्तिलाई लिन आइसोलेसन पुगेका टीकापुरका एक जनाले भने, ‘त्यहाँबाट बसमा चढेर आफ्नै तरिकाले घर जाने हो ।’
इमान्दारिता भएन
सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्रसिं कार्कीले एक÷एक व्यक्ति कसरी घर गइरहेको छ भनेर हेर्न नसकिने बताए । उनले व्यक्ति पनि अब आफै इमान्दार बन्नुपर्ने बताए । ‘आइसोलेसनबाट होम आइसोलेनमा बस्न आग्रह गर्दै आफन्तको जिम्मामा लगाउने हो,’ उनी भन्छन्, ‘सकेसम्म व्यक्तिनै इमान्दार हुनुपर्छ । घरसम्म सुरक्षित तरिकाले अलग्गै सवारी साधानमा जानुपर्छ ।’
सीमा नाकाबाट एन्टिजेन पोजिटिभ भएर आइसोलेसनमा हालसम्म ९१६ जना पुगिसकेका छन् । त्यसमध्ये ८६० जनालाई होम आइसोसेलनमा पठाइएको आइसोलेसनमा कार्यरत स्वास्थ्यकर्मी प्रेम रोकायाले जानकारी दिए । उनले शनिबारसम्म आइसोलसनमा ५६ जना संक्रमित रहेको बताए ।
‘आइसोलेसनमा पुगेकाहरुमध्ये अधिकांश होम आइसोलसनमा बस्ने गरी गइसक्छन्,’ उनले भने, ‘केही टाढा घर भएका र १० दिनसम्म आइसोलेसनमै बस्न चाहेकाहरु मात्रै यहाँ हुन्छन् ।’ १० दिनसम्म बसेर पनि स्वास्थ्यमा समस्या नदेखिएकाहरुलाई घरमा केही दिन सुरक्षित रहने सल्लाह दिएर घर पठाइने गरिएको उनले बताए ।
अहिले पनि भारतबाट गौरीफन्टा नाका हुँदै दैनिक पाँच सयको हाराहारीमा मानिसहरु स्वदेश फर्किरहेका छन् । यसमध्ये अधिकांशको चेकजाँच हुन्छ । चेकजाँचपछि एन्टिजेन पोजिटिभ देखिएका व्यक्तिहरुलाई आइसोलेसनमा लगिन्छ ।
तर भारतबाट आएका सबै चेकचाँचको दायरा पुग्दैनन् । जनशक्ति व्यस्थापन अभावलगायतका कारण हुलमा आएका सबै व्यक्तिहरुलाई त्यहाँ कार्यरत कर्मचारी र प्रहरीले हेर्नै भ्याउँदैनन् । कोहीले चेकजाँचको लाइनमै नलागेर सबैका आँखा छल्दै फुत्किन्छन् । सीमा नाकामा बस्ने कर्मचारीले र प्रहरीले पनि उनीहरुको खासै मतलव राख्न नसकेको देखिन्छ ।
नाकामा अहिले जिल्ला स्वास्थ्य कार्यालयको ल्याव सेन्टर र कञ्चनपुरको पुनर्वास नगरपालिका र धनगढी उपमहानगरपालिकाको स्वास्थ्य टोली चेकजाँचका लागि खटाइएको छ । यसअघि सो भूमि कञ्चपुर जिल्लाकै भएपनि कैलाली मातहत रहने गरेर नाकामा जिल्ला स्वास्थ्य कार्यालय कैलाली र धनगढी नगरपालिकाको टोली खटिएको थियो ।

अहिले कञ्चनपुरले सो भूमिलाई आफ्नो मातहत राखेपछि त्यहाँ दुई जिल्लाका स्वास्थ्यकर्मी खटाइएका छन् । दुई जिल्लाबाट स्वास्थ्यकर्मी खटाइएपनि एकआपसमा खासै समन्वय नभएर भारतबाट आउने नेपाली नागरिकको चुस्त दुरुस्त रुपमा चेकजाँच नभइरहेको स्थानीय बताउँछन् ।
तथ्यांकको आधारमा हेर्ने हो भने गौरीफन्टा नाका हुँदै फागुनदेखि हालसम्स नेपाल भित्रिएकामध्ये एन्टिजेन परीक्षण गराएका ११ हजार ८ सय १० जनामध्ये ९ सय ६ जनामा कोरोना पोजिटिभ देखिएको छ ।
पछिल्लो तथ्यांकअनुसार सुदूरपश्चिममा हालसम्म पीसीआर बिधिबाट गरिएको परीक्षणमा १४ हजार ७ सय ६९ जना कोरोना संक्रमण पुष्टि भएका छन् । त्यसमध्ये १४ हजार १ सय ४८ जना डिस्चार्ज भएका छन् । सुदूरपश्चिममा हालसम्म ६० जनाको मृत्यु भएको छ । प्रदेशमा अहिले ६ सय बढी सक्रिय संक्रमित छन् । जसमध्ये सबैभन्दा बढी कैलालीमा छन् ।
१२ वैशाख २०७८, आइतवार १६:१३ बजे प्रकाशित













