६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोप लगाउन ४८ खोप केन्द्र तोकिए

बैतडीमा ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई यही फागुन २३ गतेदेखि कोरोना भाइरसविरुद्धको खोप लगाइनको लागि ४८ खोप केन्द्र तोकिएको छ। दोस्रो प्राथमिकताको पहिलो चरणमा जिल्लाका पाँच स्थानीय तहका ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने तयारी भएको हो ।
स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टका अनुसार स्थानीय तहका प्रत्येक वडामा गरी ४८ खोपकेन्द्र तोकिएको छ । यही फागुन २७ गतेसम्म सञ्चालन हुने अभियानमा खोप लगाउन आउने व्यक्तिले उमेर खुल्ने परिचयपत्र अनिवार्य ल्याउनुपर्ने उनले बताए।

दश स्थानीय तहमध्ये चिकित्सक भएका पाँच स्थानीय तहमा मात्रै हाल खोप अभियान सुचारु गरिने उनले बताए। जिल्लाको दशरथचन्द, पाटन, पुर्चौडी र मैलोली नगरपालिका तथा दोगडाकेदार गाउँपालिकामा खोप अभियान सुचारु गरिने छ।

खोप लगाइसकेपछि हुनसक्ने आवाञ्छित घटना व्यवस्थापन लागि चिकित्सकसहित मेडिकल टोली भएको स्थानीय तहमा अभियान सञ्चालन गर्ने उनले बताए । जिल्लामा १३ हजार डोज खोप मौज्दात रहेको स्वास्थ्य कार्यालयले जनाएको छ। यसअघि जिल्लामा दुई हजार ७०० बढीलाई कोरोनाविरुद्धको खोप लगाइसकेको उनले बताए ।

पहिलो चरणका लागि जिल्ला अस्पतालमा मात्रै एउटा मात्रै खोप केन्द्र तोकिएको थियो भने दोस्रो चरणमा पाँच खोपकेन्द्र तोकिएका थिए।

यसैबीच पहिलो चरणमा पहिलो डोज लगाएकालाई दोस्रो डोज वैशाख ७ गते र दोस्रो चरणमा खोप लगाएकालाई जेठ ९ गतेदेखि दोस्रो डोज दिइने जनाइएको छ।


२२ फागुन २०७७, शनिवार १३:०५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु