भारतीय युवकको शव आफन्तलाई बुझाइने

कञ्चनपुरको बेलौरी नगरपालिकामा बिहीबार साँझ अबेर प्रहरी र तस्करबीच भएको दोहोर भिडन्तमा मारिएका भारतीय युवकको शव आफन्तलाई बुझाउने तयारी भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाका अनुसार लागुऔषध र नक्कली नोट बनाउने मेसिनसहित नेपाल भित्रिएका भारतको पिलिभित जिल्ला ग्राम भूमि दान राघव पुरी थानाका २० वर्षीय गोविन्दा सिंहको दोहोरो भिडन्तमा मृत्यु भएको हो ।

नेपाल–भारत सीमा कटेर करिब ३०० मिटर वर आइसकेका चार भारतीय युवकसित झोला देखेपछि रोकेर जाँच गर्न खोज्दा प्रहरीमाथि नै फायर भएको उनले बताए । जवाफी फायरमा प्रहरीको गोली लागेर गम्भीर घाइते भएका सिंहको उपचारका क्रममा स्थानीय अस्पतालमा मृत्यु भएको हो । घटनालगत्तै मृतकका बुबा गुरदेव सिंह प्रहरीको सम्र्पकमा आएपछि मृतकको पहिचान खुलेको प्रहरीले बताए ।

प्रमुख जिल्ला अधिकारी रामकुमार महतो र जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक उमाप्रसाद चर्तुवेदीसहितको टोलीले आज बिहाज घटनास्थलको स्थलगत अनुगमन गरेको छ । “हामी अहिले पनि घटनास्थलमै खटिएर थप अनुसन्धान गरिरहेको उनले बताए । शव बेलौरीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ ।” भारतीय पक्षसित पनि समन्वय भइरहेको बताउँदै प्रवक्ता थापाले शव परीक्षणपछि आफन्तको जिम्मा लगाइने जानकारी दिए ।
मृतकका आफन्त प्रहरीको सम्र्पकमा रहेको बताउँदै उनले मृतक सिंह लामो समयदेखि उक्त क्षेत्रमा लागुऔषध, नक्कली नोट बनाउने गिरोहमा संलग्न रहेर तस्करी गर्दै आएको खुल्नमा आएको जानकारी दिए । दोहोरो भिडन्तमा नेपाल प्रहरीका जवान वीरसिंह साउद सामान्य घाइते भएको र स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


२१ फागुन २०७७, शुक्रवार १४:३२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु