बसको ठक्करबाट मृत्यु भएकी सिन्की बोहराको शव अस्पतालमै, क्षतिपूर्तिमा सहमति जुटेन
धनगढी। कैलालीको अत्तरियामा बसको ठक्करबाट मृत्यु भएकी बझाङकी सिन्की बोहराको शव अझै सेती प्रादेशिक अस्पतालमा राखिएको छ। दोषीलाई कारबाही र मृतक परिवारलाई क्षतिपूर्तिको विषयमा सोमबार भएको छलफलमा सहमति जुट्न नसकेपछि शव अस्पतालमै रहेको हो।
बझाङको मष्टा गाउँपालिका–६ घर भई हाल गोदावरी नगरपालिका–१ मा बस्दै आएकी बोहरालाई आइतबार महेन्द्रनगरबाट दार्चुलातर्फ जाँदै गरेको महाकाली यातायातको सुप प्र ०२–००१ ख ९५६ नम्बरको बसले अत्तरियामा ठक्कर दिएको थियो। उनी अत्तरिया बसपार्कमा पानी र भुजा बिक्री गर्दै आएकी थिइन्।
दुर्घटनापछि स्थानीय तथा मृतकका आफन्तले बस चालकलाई कडा कारबाही गर्न माग गर्दै आइतबार साँझ अत्तरिया बजारमा विरोध प्रदर्शनसमेत गरेका थिए। दोषीलाई कारबाही र मृतक परिवारलाई उचित क्षतिपूर्तिको माग गर्दै सोमबार इलाका प्रहरी कार्यालय मालाखेतीमा छलफल भए पनि सहमति हुन सकेन। इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी हीरा महराका अनुसार सहमति नभएपछि मंगलबार बिहान पुनः छलफलका लागि सम्बन्धित पक्षलाई बोलाइएको छ।
मृतक बोहराको शव हाल सेती प्रादेशिक अस्पतालमा राखिएको छ भने मंगलबार हुने छलफलबाट पीडित परिवार र यातायात पक्षबीच सहमति जुट्ने अपेक्षा गरिएको छ।
९ भदौ २०८३, मंगलवार १५:४२ बजे प्रकाशित














