विपक्षी दलको अवरोधपछि संसद बैठक स्थगित

काठमाडौं । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम छलफलको लागि टेबल गर्ने कार्यतालिका भएपनि प्रधानमन्त्री वालेन्द्र शाह बालेन अनुपस्थित भएपछि विपक्षी दलका सांसदहरुले संसद अवरोध गरेका छन् । सो विषयमा सभामुख अर्यालले विपक्षी दलका सांसदहरुलाई बोल्ने समय दिए । कांग्रेस सांसद अर्जुननरसिंह केसीले नीति तथा कार्यक्रमको जवाफमा प्रधानमन्त्रीको उपस्थिति नभएमा संसद बहिष्कार गर्ने चेतावनी दिएका थिए । एमालेले पनि प्रधानमन्त्रीको उपस्थिति हुनुपर्ने माग राखेको थियो ।
कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संसद बैठक रोकेर राजनीतिक दलका संसदीय दलका नेता तथा सचेतकहरुसँग बैठक राखेर छलफलपछि बैठक अघि बढाउन प्रस्ताव गरेका थिए । त्यसको जवाफमा सभामुख अर्यालले नीति तथा कार्यक्रम ‘अहिले टेबुल गरौं छलफल पछिगरौं सरकारसँग संवाद भइन रहन्छ’ भनेका थिए ।
तर पनि विपक्षी सांसद तयार भएनन् ।श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीको राजीनामा माग्दै बैठक बहिस्कार गरेर हिडेका थिए ।
‘सदन चल्न नदिने नै उद्देश्य हो भने त्यो विषयमा छलफल गरौ । यहाँहरु चारपाँच जना माननीयहरुले राख्नुभएको कुरा सुने । मैले आफ्नो कुरा पनि राखे । अब संसद अघि बढाऔं,’ सभामुखले प्रस्ताव गरे । तर विपक्षी दलका सांसदहरु टसका मस नभएपछि सभामुख अर्यालले १५ मिनेटको लागि संसद बैठक स्थगित गरे ।
३० वैशाख २०८३, बुधवार १३:५० बजे प्रकाशित











