आजदेखि पेट्रोलियम पदार्थको मूल्यवृद्धि, कति पुग्यो मूल्य ?

काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले आजदेखि लागू हुने गरी डिजल, मट्टीतेल र हवाई इन्धनमा आन्तरिकतर्फ मूल्यवृद्धि गरिएको जनाएको हो ।
नयाँ मूल्यसूची अनुसार डिजल/मट्टीतेलमा प्रतिलिटर रु ३० र हवाई इन्धमा प्रतिलिटर रु पाँच वृद्धि गरिएको छ ।परिवर्तित मूल्यअनुसार, डिजल/मट्टीतेलको प्रतिलिटर रु दुई सय ३७ पुगेको छ भने हवाई इनधनको मूल्य प्रतिलिटर रु दुई सय ५६ पुगेको छ ।
अन्तरराष्ट्रिय बजारमा मूल्यवृद्धि भएको र इण्डियन आयल कर्पोरेशनले पठाएको नयाँ मूल्यसूचीअनुसार हिसाब गर्दा अझै अत्यधिक घाटा रहेको निगमको दाबी छ ।
लागत मूल्य बढी र बिक्री मूल्य कम भएकाले मूल्य समायोजन गर्दा समेत पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ ३२ पैसा, डिजलमा प्रतिलिटर ८७ रुपैयाँ ९९ पैसा, मट्टीतेलमा ३६ रुपैयाँ ७० पैसा र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर तीन सय ३१ रुपैयाँ २५ पैसा घाटा कायम रहेको निगमले जनाएको छ ।
पाक्षिक रूपमा करिब रु सात अर्ब ८१ करोड ६१ लाख बराबरको घाटा रहेको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।
३ वैशाख २०८३, बिहीवार ०८:४६ बजे प्रकाशित













