कैलाली उद्योग वाणिज्य संघद्वारा पेट्रोलियम पदार्थमा कृत्रिम अभाव र कालोबजारी नगर्न आग्रह

धनगढी। कैलाली उद्योग वाणिज्य संघले पेट्रोलियम पदार्थ तथा एल.पी. ग्यासको आपूर्तिमा देखिएको असहज अवस्थाप्रति ध्यानाकर्षण गराउँदै कृत्रिम अभाव सिर्जना र कालोबजारी नगर्न व्यबसायीलाई आग्रह गरेको छ ।

संघले प्रेस विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय परिस्थितिका कारण पेट्रोलियम पदार्थको आपूर्तिमा प्रभाव परेको उल्लेख गर्दै त्यसको असर नेपालमा पनि देखिएको जनाएको छ । यस्तो अवस्थामा बजारमा कृत्रिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्ने गतिविधि भइरहेको समाचारप्रति संघको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।

संघका अध्यक्ष पुष्करराज ओझाले बजारलाई सहज, पारदर्शी र उपभोक्तामैत्री बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको बताएका छन्।
संघले आम उपभोक्तालाई सहज रूपमा पेट्रोलियम पदार्थ उपलब्ध गराउन व्यवसायीहरू जिम्मेवार बन्नुपर्ने बताउँदै आपूर्ति प्रणालीलाई सरल र प्रभावकारी बनाउन आग्रह गरेको छ । साथै आवश्यकताभन्दा बढी इन्धन संचित नगर्न र तोकिएको मापदण्डअनुसार मात्रै खरिद गर्न उपभोक्तासमक्ष अनुरोध गरिएको छ ।

सरकारले निर्धारण गरेको तौल, गुणस्तर र मूल्यमा कुनै प्रकारको हेरफेर नगर्न पनि संघले सम्बन्धित पक्षलाई सचेत गराएको छ । यदि कालोबजारी वा अनियमितता गरेको पाइएमा त्यस्ता व्यक्ति वा संस्थालाई कारबाहीको दायरामा ल्याउनुपर्ने संघको माग छ ।


३ चैत २०८२, मंगलवार ११:१३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु