धनगढीका मेयर हमालले भने-अगामी निर्वाचनमा गरिबी हटाउने रोडम्याप बिना भोट नदिनुहोस्

धनगढी । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले अगामी निर्वाचनमा गरिबी हटाउने स्पष्ट रोडम्याप बिना भोट नदिन आग्रह गरेका छन् ।

सामाजिक सञ्जालमार्फत पुस १५ र तमु ल्होसारको अवसरमा भिडियो सन्देश जारी गर्दै हमालले दल र नेताहरूसँग सुदूरपश्चिमको गरिबी घटाउने स्पष्ट रोडम्याप मागेर मात्रै योग्य पात्र छनोट गर्न आग्रह गरेका छन् । उनले सुदूरपश्चिममा गरिबी झनै बढ्दै जानु दुःखद र चिन्ताजनक रहेको समेत उल्लेख गरेका छन् ।

राजनीतिक रूपमा धेरै परिवर्तन भए पनि सुदूरपश्चिमको विकासको गति अहिलेसम्म पनि दयालाग्दो अवस्थामा रहेको भन्दै उनले भनेका छन्, ‘सन् २०१९ मा कर्णाली प्रदेशमा गरिबीको दर ३९ दशमलव ५० प्रतिशत थियो। अहिले उसले घटाएर २६ दशमलव ६९ प्रतिशतमा झारेको छ।

तर त्यही समयमा २५ दशमलव ३० प्रतिशत गरिबी रहेको सुदूरपश्चिममा अहिले बढेर ३४ दशमलव १६ प्रतिशत पुगेको छ।’
सुदूरपश्चिमभन्दा गरिब मानिएको कर्णालीले गरिबी घटाउन सफल हुनु र सुदूरपश्चिममा उल्टै गरिबी बढ्नु अत्यन्तै चिन्ताको विषय भएको मेयर हमालको भनाइ छ। ‘कर्णालीले गरिबी घटायो, सुदूरपश्चिमको किन बढ्यो? यसको जवाफ हामी सबैले खोज्नुपर्छ ।

‘ मेयर हमालले पुस १५ लाई आधार मानेर दल र नेताहरूसँग गरिबी हटाउने योजनाबारे प्रश्न, छलफल र बहस सुरु हुनुपर्नेमा पनि बताएका छन् । उनले भोट माग्न आउने नेताहरूसँग गरिबी घटाउने ठोस योजना र कार्यान्वयनयोग्य रोडम्याप माग्न अनुरोध गरेका छन् । ‘गरिबी घटाउने स्पष्ट प्लान दिनसक्ने दल र उम्मेदवारलाई मात्रै भोट दिने मनस्थिति बनाउनुपर्छ, उनले भनेका छन् ।


१५ पुस २०८२, मंगलवार १३:५७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु