देशका प्रमुख भवनमा तोडफोड र आगजनी
काठमाण्डाै। काठमाण्डाै उपत्यकासहित देशका विभिन्न ठाउँमा प्रदर्शनकारीबाट भएको आक्रमणको निशानामा देशको प्रमुख प्रशासनिक केन्द्र सिहदरबारलगायत महत्त्वपूर्ण भवन र संरचना क्षति भएका छन् ।
काठमाण्डाै बानेश्वरसहितका ठाउँमा ‘जेन जी’ समूहबाट आयोजित प्रदर्शनपछि भड्किएको घटना र आगजनीमा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका मुख्य भवन जलेका हुन् ।
सिंहदरबारमा रहेकाे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय भवन, रामशाहपथमा रहेकाे सर्वाेच्च अदालत र नयाँ बानेश्वरमा रहेकाे सङ्घीय संसद् आगलागीबाट ध्वस्त भएको छ ।
प्रदर्शनकारीले रामशाहमा रहेकाे महान्यायाधिवक्ताको कार्यालय तथा ट्राफिक कार्यालयमा समेत आगजनी गरेका छन् । प्रदर्शनीकारीबाट नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाललगायतका निवासमा तोडफोड र आगजनी भएको छ ।
एमालेका नेता गोकुल बास्कोटा, महेश बस्नेत, महेश बर्ताैलालगायतका निवासमा पनि आगजानी र तोडफोड भएको छ । देशका मुख्य शहरहरूका महत्त्वपूर्ण भौतिक संरचना र निवासमा पनि आन्दोलनकारीले क्षति पुर्याएका छन् ।
‘जेन जी’ पुस्ताको प्रदर्शनीमा प्रहरी कारबाहीमा १९ जनाकाे ज्यान गएपछि प्रदर्शनीले उग्ररूप लिएकाे छ ।
२४ भदौ २०८२, मंगलवार १८:२६ बजे प्रकाशित































