चन्दको मध्यमार्गी लाइनः हिसाब सार्वजनिक गर्न ढिला भएकै हो, प्रक्रियागतरुपमा पारित हुन्छ

धनगढी। एनपीएलको हिसाब सार्वजनिक गर्न ढिलाइ भएको विषयलाई लिएर नेपाल क्रिकेट संघ (क्यान) भित्र अन्तरद्वन्द्व जारी रहँदा अध्यक्ष चतुरबहादुर चन्द भने तटस्थ भूमिकामा देखिएका छन् । उनले न सचिव पारसको खुलेर बचाउ गरेका छन्, न त असन्तुष्ट पक्षलाई नै साथ दिएका छन् ।

चन्दलाई आज धनगढीमा आयोजित एक पत्रकार सम्मेलनमा यो विषयमा जिज्ञासा राखियो । आज पनि उनले ‘मध्यमार्गी’ धारणा नै राखे । एनपीएलको हिसाब सार्वजनिक गर्न ढिलाइ भएको उनले स्वीकारे । तर अब यसलाई विधिसम्मत तरिकाले अगाडि लैजाने भनाइ उनको थियो । क्यानभित्र विवाद र गुटबन्दीबारे पत्रकारले सोधेको प्रश्नमा चन्दले कुटनीतिक जवाफ दिए ।

उनले भने, ‘क्इानभ नेको एउटा संस्था हो । यसमा निर्वाचित बोर्ड हुन्छ । बोर्ड सदस्य १७ जना सबै भोटिङबाट आएका हुन् । सबैको आआफ्नो स्कुलिङ अनुसार फरक फरक विचारहरु छन् । तर, सबै सदस्यको एउटै लक्ष्य भनेको नेपाली क्रिकेटलाई माथि पुर्याउने हो । विधि–विधान अनुसार चलौं भन्ने साथीहरुको मत छ । अध्यक्षका रुपमा मैले त्यसको नियमन गर्नुपर्ने पनि हुन्छ । साथीहरुका विभिन्न गुनासोहरु छन् । त्यो भनेको सुझाव हो । कमजोरी भएको छ भने सुधार्नुपर्छ । राम्रो भएको छ भने राम्रै भएको छ भनेर साथीहरुलाई कन्भिन्स गर्नुपर्छ । कुनै वारपार वाला गुटबन्दी मैले क्यानभित्र देख्दिनँ ।’

एक पत्रकारले सोधे, ‘तपाईंले पारस खड्कालाई यति धेरै अधिकार दिनुभयो । क्यानको गर्भिनिङ काउन्सीलको संयोजक बनाउनुभयो । तर पारसले तपाईंलाई कतै पनि श्रेय दिएको देखिँदैन । तपाईंको नाम कुनै पनि मञ्चमा लिनुहुन्न । यसमा के भन्नुहुन्छ ?’
यसमा पनि चन्द खुलेनन् ।

उनले संक्षिप्त जवाफ दिए, ‘उहाँले मञ्चमा नबोेलेको भन्ने कुरा उहाँको विषय हो । मैले पर्दा पछाडि गरेको कामबारे तपाईंहरु खोज गर्न सक्नुहुन्छ । मेरो योगदानबारे मैले बताइराख्नु पर्दैन ।’ चन्दले एनपीएल सिजन २ को तयारी सुरु भइसकेको बताए । पहिलो सिजनको हिसाबकिताब अध्ययन गर्न बोर्ड सदस्यहरुले समय मागेकाले अस्तिको बैठकमा पारित नभएको उनको भनाइ छ ।

चन्दले भने, ‘सिजन २ को तयारी सुरु गरिसकेका छौं । हिसाबकिताबमा अलि ढिला भएको चैं हो । तर ढिला हुँदैमा सबै कुरा बिग्रेको भन्ने होइन । बोर्डका केही साथीहरुले आजै मात्र हिसाब पायौं, यसलाई अध्ययनका लागि समय चाहिन्छ भन्नुभएको छ । अब अर्को बैठकमा पारित हुन्छ ।’ नेपालले एसीया कप गुमाउनुपर्दा क्यानलाई आर्थिक रुपमा पनि धेरै नोक्सानी भएको चन्दले गुनासो गरे ।

उनले भने, ‘एसिया कपमा छनोट नहुँदा हामी अलिकति तल परेका छौं । खेलाडीर्लाइ मात्र नभएर क्यानलाई आर्थिकरुपमा पनि ठूलो क्षति भएको छ । हामीले एसीसीबाट आउने अनुदान सहायता गुमायौं ।’


१८ साउन २०८२, आइतवार १३:३५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु