सुदूरपश्चिममा छाउगोठका चिहानहरू: बाघ, सर्प, आगो र बलात्कारको कहर
धनगढी। मुलुकी अपराध संहिता, २०७४ ले भन्छ — महिला रजस्वला वा सुत्केरी भएको अवस्थामा छाउपडी राख्न वा त्यस्तै अन्य कुनै किसिमका भेदभाव, छुवाछुत वा अमानवीय व्यवहार गर्न वा गराउन हुँदैन। त्यस्तो गरे तीन महिनासम्म कैद वा तीन हजार रूपैयाँ जरिवाना वा दुवै सजाय हुन्छ। तर यो कानुनको धज्जी उडाउँदै आज पनि सुदुरपश्चिम र कर्णालीमा छाउगोठ यथावत नै छन् ।
सुदुरपश्चिममा महिलाहरुकालागि छाउगोठ नै चिहान बनेका छन् । रजस्वला भएर छाउगोठमा बस्न बाध्य भएका महिलाहरुको बिहान कहिल्यै नहुन पनि सक्छ भन्ने परिवार ,समाज र उनीहरु स्वयमलाई पनि थाहा छ तै पनि यो कुरितिको अन्धभक्त भएर जगेर्ना गरिरहेकाछन् । सुदुरपश्चिम प्रदेशमा मात्र विगत नौ बर्षमा छाउगोठमा नौ वटा घटना भएका छन् ।
यति बेला कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ की कमला आउजीको घटनाले फेरि छाउगोठमा हुने दर्दनाक र अमानवीय घटनालाई उजागर गरेको छ।भारतमा काम गर्दै आएकी कमलाले पक्की घरसमेत निर्माण गरिन् । तर, उनको जीवन छाउगोठका कारण समाप्त भयो। असार २८ गते राति २८ वर्षीय कमलालाई छाउगोठमा सर्पले टोक्यो । सर्पले टोकेर घाइते भएकी कमलाको सेती प्रादेशिक अस्पताल, धनगढीमा मृत्यु भयो ।
उनले भारतमा पसिना बगाएर पक्की घर बनाएकी थिइन्। तीन छोरालाई विद्यालय पढाउने सपना बोकेकी थिइन्। तर, कमलाले त्यही घरको ओछ्यानमा महिनावारी भएका बेला सुत्न पाइनन्। कमलाको मात्र कुरा होइन, यो समाजले यस्ता थुप्रै कमलाहरूलाई वर्षौयता परम्पराका नाममा गुमाउँदै आएको छ।

सुदूरपश्चिममा प्रत्येक वर्ष छाउगोठमा महिलामाथि यस्ता प्रकारका घटनाहरू हुने गरेका छन्। कैलालीको मोहन्याल गाउँपालिका–७, कुइनेकी ४० वर्षीया सरस्वती विकलाई २०८१ माघ १३ गते छाउगोठमा सुतिरहेकै अवस्थामा बाघले आक्रमण गर्यो। घटना बेलुका सबेरै भएकाले छिमेकीको साहयताले उनी बाघको पन्जाबाट बच्न सफल भइन्।
त्यस्तै, २०७६ कात्तिक १५ गते अछामको साँफेबगर नगरपालिका–३, डिग्रेनीकी २२ वर्षीय पार्वती बुढा रावतको गोठभित्र सर्पदंशबाट ज्यान गएको थियो। २०७५ पुस २४ गते बाजुरामा छाउगोठमा सुतिरहेकी ३५ वर्षीया अम्बा बोहरा आफ्ना दुई छोरासहित तीन जनाको परिवार छाउगोठमा सदाका लागि अस्ताए। जाडो छल्न उनीहरूले छाउगोठमा बालेको आगोले गोठ जल्दा तिनै जनाको एकै चिहान बनेको थियो।
यस्तै, २०७३ कात्तिक ५ गते अछामको तिमिल्सेन गाउँकी ४५ वर्षीय डम्मरा उपाध्यायले छाउगोठभित्र निसासिएर ज्यान गुमाएकी थिइन्। जिल्लाकै गाजराकी १५ वर्षीय रोशनी तिरुवाले २०७३ कात्तिक ५ र तुर्माखाँद गाउँपालिका–३ की २१ वर्षीय गौरी वयक बुढाले २०७४ पुस २७ गते निसासिएर छाउगोठमा ज्यान गुमाउनु परेको थियो।
२०७९मंसिर ६ गते कमलबजार नगरपालिका–५ कि १३ वर्षीय र २०८१ असार ४ गते अछामको पञ्चदेवल विनायक नगरपालिका–२ की १६ वर्षीय दुई किशोरी छाउगोठमा बलात्कृत हुनु पर्यो। त्यस्तै, बितेको एक दशक यता सुदूरपश्चिम प्रदेशमा मात्रै महिनावारी भएका बेला छाउगोठमा भएका घटनाले आठ जनाले अनाहकमै ज्यान गुमाएका छन्। भने,दुई जना बलात्कारको शिकार हुनु परेको प्रदेश प्रहरीको तथ्यांकमा छ।

सुदूरपश्चिम प्रदेश प्रहरीको तथ्याङ्क अनुसार २०७३ सालदेखि हालसम्म नौ वटा घटना छाउगोठमा भएका छन्।

सर्वोच्च अदालतले २०६२ साल बैशाख १९ गते छाउपडी प्रथालाई कुरीति घोषणा गरेको थियो। २०६४ सालमा सरकारले कुरीति घोषणा गरेर छाउपडी प्रथा उन्मूलनसम्बन्धी निर्देशिका जारी ग¥यो। फौजदारी अपराध संहिताले छाउपडी प्रथालाई औपचारिक रुपमा अपराध करार गरेको छ। तर कानुन भन्दा बलिया सामाजिक कुरितिहरु भएको समाजमा महिलाहरुको ज्यान जानू सामान्य मानिन्छ ।
देशमा ३ प्रकारका सरकार छन् । तर यी तिनै प्रकारका सरकारको ध्यान मात्र छाउगोठ भत्काउने अभियानमा सिमित छ उनीहरुले छाउसोच भत्काउन खासै प्रयास गरेको देखिदैन । एकाघ घटना बाहिर आएपछि तिनै प्रकारका सरकार छाउगोठ भत्काउने अभियान चलाउँछन् । तर अभियानका रुपमा भत्काइएका छाउगोठ फेरि ठडिन्छन् । कुरितिको जरा समाजको पिँधमा यसरी गडेको छ कि जहाँ छोरी बुहारीहरुको ज्यान छाउगोठमा जाँदा समेत देउता रिसाउने डरले मानिसहरुको मानसिकताबाट हट्न सकेको छैन।
७ साउन २०८२, बुधवार १७:५९ बजे प्रकाशित













