punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

थारू बस्तीमा हर्डहुवाको रौनक

Chaupati
safha napa

धनगढी।रोपाइँ सकिएपछि कैलालीको थारू बस्तीमा हर्डहुवाको रौनक छाएको छ।
ढुरिया/असारी पूजा गरेर धान रोपाइँको थालनी गरेका प्रकृति पूजक थारू समुदायले खेतीपातीको काम सकिएको खुसियालीमा हर्डहुवा मनाउने चलन रहेको छ। हिलोमाटो लागेको हलो, जुवा, कृषि उपकरण धोएर त्यसको पूजा गर्दै खानपान गरेर रमाइलो गरी हर्डहुवा मनाइन्छ।

हर्डहुवा गाउँभरिका परिवारले एकसाथ मनाउने र रमाउने गरेको कैलारी गाउँपालिका–६, बेनौलीका भलमनसा पहलमान चौधरीले बताए। उनले आफ्नो गाउँका २७० घरपरिवारले एकसाथ हर्डहुवा मनाएको जानकारी दिए। ‘वर्षाभरि घामपानीसँग जुधेर हामी खेतीपातीको काम गर्छौं। त्यस क्रममा कतिपय किराफट्याङ्ग्रालाई हाम्रो कारणले हानिनोक्सान भएको छ,’ भलमनसा चौधरीले थपे , ‘खेतीपातीको क्रममा गरेको पाप नाशका लागि हर्डहुवा मनाउने गरिन्छ।’

थारू समुदायको जीविकोपार्जनको प्रमुख माध्यम खेतीपाती हो। वर्षायाममा घामपानीसँग जुधेर खेतीपातीको काम गर्दा शरीर कमजोर हुन्छ। कमजोर शरीरलाई पुनः शक्ति प्राप्तिका लागि हर्डहुवा मनाउने गरेको थारू बुद्धिजीवी बताउँछन्। वर्षामा काम गर्दा थाकेको शरीरमा हर्डहुवाले पुनर्ताजगी ल्याउने थारू बुद्धिजीवी माधव थारूको भनाइ छ।

त्यसै गरी हर्डहुवा आफन्त, नातागोताबिच भेटघाटको माध्यम पनि बनेको उनको बुझाइ छ। उनले आफ्ना छोरीबेटी, इष्टमित्र, आफन्त, नातागोतालाई डाकेर हर्डहुवा मनाउने चलन रहेको बताए। हर्डहुवामा सुँगुरको मासु, माछालगायत मिठा परिकार खाएर रमाउने चलन छ।
विगतमा हर्डहुवामा मिठा मिठा परिकार खाएर सजना गीत गाउने, पुराना कथा, चुट्किला सुन्ने कार्यसमेत हुने गर्दथ्यो तर अचेल आधुनिक मनोरञ्जनका साधनका कारण मौलिक लोकगीत, कथा सुन्ने, सुनाउने कार्य नहुने गरेको थारू अगुवा बताउछन्। कतिपय कुरा परिवर्तन भए पनि रोपाइँपछि रमाइलो र पुनर्ताजगीका लागि मनाउने हर्डहुवा थारू समुदायका लागि एउटा पर्व जस्तै रहेको कैलारी गाउँपालिका–७, छटकपुर वसन्ताका जिया चौधरीले बताइन्। ‘हर्डहुवाले थकाइ मेटाउनुका साथै रमाइलो प्रदान गर्छ,’ उनले भनिन्, ‘त्यस कारण प्रत्येक वर्ष रोपाइँपछि थारू गाउँमा हर्डहुवा मनाइन्छ ।’


२५ असार २०८२, बुधवार १३:५२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु