साक्षर सुदूरपश्चिम प्रदेश घोषणा

धनगढी। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिम प्रदेशलाई “साक्षर सुदूरपश्चिम प्रदेश” घोषणा गर्नुभएको छ।

सामाजिक विकास मन्त्रालयको आयोजनामा बिहीबार धनगढीमा आयोजित एक समारोहमा मुख्यमन्त्री शाहले साक्षर सुदुरपश्चिम घोषणा गर्नु भएको हो।

कार्यक्रममा बोल्दै उहाँले विश्व अहिले सूचना, प्रविधि र वैज्ञानिक युगमा प्रवेश गरिसकेकाले त्यही अनुसारको आधुनिक शिक्षाको आवश्यकता रहेको बताउनुभयो। साथै, प्रदेश सरकार सुदूरपश्चिमको शैक्षिक स्थिति सुधार्न क्रियाशील रहेको उहाँको भनाइ थियो।

यो घोषणा ८८ वटा स्थानीय तहमा गरिएको साक्षरता सर्वेक्षण, शिक्षा विकास निर्देशनालय र साक्षरता अभियान प्रदेश समन्वय समितिको प्रतिवेदनका आधारमा गरिएको हो। प्रतिवेदनअनुसार १५ देखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशत नागरिकहरू साक्षर भइसकेका छन्।

यसअघि सुदूरपश्चिमका सबै ९ जिल्लाहरू क्रमशः साक्षर जिल्ला घोषणा भइसकेका थिए। सुदूरपश्चिम, यो उपलब्धि हासिल गर्ने चौथो प्रदेश बनेको छ। यसअघि बागमती, गण्डकी र कोशी प्रदेश साक्षर घोषित भइसकेका छन्।


१२ असार २०८२, बिहीवार १४:४० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु