आयुर्वेद उपचारमा आकर्षण बढ्दो

डोटी। डोटीको दिपायलमा रहेको जिल्ला आयुर्वेद औषधालयमा उपचारका लागि आउने बिरामीको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । आयुर्वेदप्रतिको विश्वास बढ्दै जानु र औषधालयको स्तरोन्नति हुनुजस्ता कारणले सेवाग्राहीको सङ्ख्या वृद्धि भएको हो । दिपायलस्थित आयुर्वेद औषधालयमा विगतका वर्षमा दैनिक ८/१० जना जति बिरामी उपचार गर्न आउँथे । तर, आजभोलि दैनिक एक सयभन्दा बढी बिरामी उपचारका लागि आउने गरेको कार्यालय प्रमुख विद्या घिमिरे देउवाले जानकारी दिइन्।
औषधालयमा फिजियोथेरापी र मौलिक थेरापीअन्तर्गत पूर्वकर्म, पञ्चकर्म थेरापी गर्न आउने बिरामीको सङ्ख्या धेरै छ । विशेषगरी हड्डी दुखाइका बिरामी अत्यधिक आउने गरेको उनले बताइन् । कतिपय बिरामी भने अन्य उपचार गराएर रोग निको नभएपछि आयुर्वेदतर्फ आउने गरेका छन् ।घरेलु रूपमा जडीबुटी प्रयोग गरेर उपचार गर्नेहरू पनि अचेल औषधालय आउन थालेका छन् । तर, स्रोत र जनशक्ति अभावले सबै क्षेत्रमा सहज रूपमा औषधि वितरण हुन भने नसकेको औषधालयको गुनासो छ । प्रदेश सरकारले औषधि उत्पादन तथा वितरणका लागि थप बजेट विनियोजन गरे आयुर्वेद उपचारलाई चुस्त बनाउन सकिने उनले बताइन् ।
औषधालयमा आउने बिरामीलाई आयुर्वेदिक औषधि, आहारविहार र योग तथा मनोसामाजिक परामर्श दिएर उपचार गरिरहेको औषधालयले जनाएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र प्रमुख घिमिरेका अनुसार जिल्ला आयुर्वेद औषधालयमा २०७९/०८० मा १४ हजार ३३८ जनाले उपचार गरेका छन् । जसमा ५ हजार ६२२ महिला र ८ हजार ७१६ पुरुष रहेका छन् । यस्तै २०८०/०८१ मा १८ हजार १२६ बिरामीले उपचार गरेको कार्यालय तथ्याङ्कमा उल्लेख गरिएको छ । यसमा ७ हजार ४६९ महिला र १० हजार ६५७ पुरुष रहेका छन् । चालु आर्थिक वर्षमा जेठसम्म १९ हजार ५३८ जना बिरामीले सेवा लिएका छन् । जसमा महिला ८ हजार ५२९ र पुरुष ११ हजार ९ जना सेवा लिएका छन् । विशेषज्ञसहितको ओपीडी सेवा, ल्याब सेवा, फिजियोथेरापी, आयुर्वेदिक थेरापी, ज्येष्ठ नागरिक सेवा र विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम सञ्चालन गरिँदै आएको उनले बताइन् ।
औषधालयमा पेटसम्बन्धी (अम्लपित्त, ग्यास्ट्रिक) श्वासप्रश्वाससम्बन्धी, बाथ, मिर्गौला सम्बन्धी, नाक, कान, घाँटीलगायतका रोगको उपचार सेवा प्रदान गरिँदै आएको छ । ज्येष्ठ नागरिकका लागि स्वास्थ्य प्रवर्द्धन कार्यक्रमअन्तर्गत रसायनवर्धक औषधि वितरण गर्ने र पोषण सेवा अन्तर्गत बच्चाका लागि पर्याप्त मात्रामा दूध उत्पादन नहुने सुत्केरीका लागि स्वास्थ्य प्रवर्द्धन गर्न स्तन्यवर्धक औषधि वितरण, हाडजोर्नी र बाथ रोगका बिरामीका लागि पूर्वकर्म थेरापीलगायतका सेवा सञ्चालन गरिएको प्रमुख घिमिरेले बताइन् ।कान्तिपुरबाट
४ असार २०८२, बुधवार ०९:३३ बजे प्रकाशित