आजबाट एसइई : पाँच लाख १४ हजार ७१ परीक्षार्थी सहभागी हुँदै
काठमाडौँ । आज (बिहीबार)देखि सुरु हुने एसइई परीक्षामा पाँच लाख १४ हजार ७१ विद्यार्थी सहभागी हुँदैछन् । देशभरका दुई हजार ८० केन्द्रमा बिहान ८ बजेदेखि परीक्षा हुनेछ ।
राष्ट्रिय परीक्षा बोर्डका कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले एसइईको सबै तयारी पूरा भएको बताए । परीक्षा व्यवस्थित बनाउन प्रत्येक केन्द्रमा २५० विद्यार्थी राखिएको छ ।
परीक्षा केन्द्रमध्ये एउटा जापानमा र दुईवटा कारागार (केन्द्रीय कारागार र दैलेख कारागार)मा छन् । जापानमा त्यहाँको समयअनुसार परीक्षा सञ्चालन हुने भएकाले छुट्टै प्रश्नपत्र बनाएर पठाइएको छ ।
परीक्षा सञ्चालनका लागि देशभर ३० हजार सुरक्षाकर्मीसहित ७७ हजार आठ सय कर्मचारी खटिएका छन् । परीक्षामा काठमाडौंबाट सबैभन्दा बढी ३९ हजार ६ सय र सबैभन्दा कम मनाङबाट ४३ परीक्षार्थी सहभागी हुँदैछन् ।
बोर्डले परीक्षाको नतिजा ९० दिनभित्र अर्थात् ७ असारमा प्रकाशन गर्ने जनाएको छ । परीक्षाअगावै नतिजा आउने मिति तोकिएको यो पहिलो पटक हो ।
७ चैत २०८१, बिहीवार ०६:३७ बजे प्रकाशित













