अर्जुन ट्रफी : धनगढीलाई हराउँदै अत्तरिया फाइनलमा
धनगढी । धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेटमा सिवाइसी अत्तरिया फाइनलमा प्रवेश गरेको छ । आइतबार भएको सेमिफाइनल खेलमा डिसिए धनगढीलाई छ विकेटले हराउँदै अत्तरिया फाइनलमा पुगेको हो ।
जितका लागि एक सय नौ रनको सामान्य लक्ष्य पाएको अत्तरियाले १८ ओभरमा चार विकेट क्षतिमा पूरा गर्यो। अत्तरियाका शंकर रानाले अर्धशतकीय पारी खेल्दै ५६ रनमा अविजित रहे। दिपेश कँडेलले २४, भीम सार्कीले १६ र विवेक यादव १२ रनमा नटआउट रहे।
धनगढीका हिक्मत महराले दुई, ललित राजवंशी र भोजराज भट्टले एक/एक विकेट हात पारे। यसअघि फाप्ला क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको धनगढीले २० ओभरमा अलआउट हुँदै एक सय आठ रन बनायो ।
धनगढीका मिलन बोहराले २८, अभिषेक पालले २७, दीपेन्द्रसिंह ऐरीले १५, राहुल भण्डारीले १३, लोकेश बमले ११ रन बनाए। अत्तरियाका विकेक यादव र कमल गुप्ताले दुई /दुई विकेट हात पारे। अत्तरियाले उपाधिका लागि भोलि फ्रेन्ड्स युथ क्लब डडेल्धुरासँग खेल्नेछ ।
नेपाल क्रिकेट संघको वार्षिक क्यालेण्डरमा समावेश भएको प्रतियोगिताको विजेताले नगद रु १० लाख र उपविजेताले नगद रु पाँच लाखसहित ट्रफी पाउनेछन्। धनगढी र सुदूरपश्चिम प्रदेशको क्रिकेटका सारथी रहेका स्वर्गीय अर्जुन खड्कालाई समर्पित गर्दै आयोजना गरिएको प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई नगद रु एक लाख प्रदान गरिनेछ ।
उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उदयमान खेलाडीले जनही रु ५०/५० हजार प्रदान गरिने आयोजकले जनाएको छ ।
२८ माघ २०८१, सोमवार ०१:२९ बजे प्रकाशित













