पत्रकार महासंघ सुदूरपश्चिमको अध्यक्षमा शाह प्यानलसहित विजयी

धनगढी । नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिको अध्यक्षमा भरतबहादुर शाह प्यानलसहित विजयी भएका छन् ।
महासंघको नयाँ नेतृत्व चयनका लागि शुक्रबार भएको निर्वाचनबाट शाह नेतृत्वको नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालको संयुक्त प्यानल विजयी भएको हो ।
शाहले चार सय ३७ मतसहित विजयी हुँदा उनका प्रतिद्धन्द्धी मिनबहादुर बमले एक सय ९२ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा शाह प्यानलकै मानबहादुर साउद विजयी भएका छन् । प्रतिद्धन्द्धी रामबहादुर धामीलाई ५३ मतले पराजीत गर्दै उनी विजयी भएका हुन् ।
साउदले ३३३ मत ल्याउँदा धामीले २८० मत पाए । उपाध्यक्ष (महिला) मा हेमन्ती डगौरा चौधरी विजयी भएकी छन् । चौधरीले ३३६ मतसहित विजयी हुँदा प्रतिद्धन्द्धी कालीमैया चौधरी(उन्नती) ले २६१ मत प्राप्त गरेकी छन् ।
महासचिवमा शिवराज भट्ट ३४८ मतसहित विजयी भएका छन् । भट्टका प्रतिद्धन्द्धी हरिप्रसाद जोशीले २६८ मत मात्रै ल्याए । सचिव (खुला) मा धनराज साउद विजयी भएका छन् । साउद ३९६मतसहित विजयी भएका हुन् । उनका प्रतिद्धन्द्धी भुुवनेश्वर प्रसाद बोहरा(भुवन) ले १७३ मत पाएका छन् ।
सचिव(समावेशी) मा ईन्द्राकुमारी के.सी.(इन्दु) विजयी भएकी छन् । के.सी ३५५ मतसहित विजयी हुँदा उनका प्रतिद्धन्द्धी मुकेश टेर्राले २३० मत प्राप्त गरे । कोषाध्यक्षमा पनि युनियन र चौतारी प्यानलका बरुण पनेरु विजयी भएका छन् । पनेरुले ३७६ मत ल्याएर विजयी हुँदा उनका प्रतिद्धन्द्धी हर्कबहादुर बि.क.(हरिष)ले २१९ मत मात्रै पाएका छन् ।
खुला सदस्यमा अर्जुनबहादुर सिंह(४२४), केशवदत्त भट्ट(४२८), कृतबहादुर बिष्ट(४२१), दिनेशबहादुर कठायत(३५३) विजयी भएका छन् । अन्य सदस्यमा दुर्गा देवकोटा, भुवनेश्वर कुमारी शाही, सन्तोषी रावल, प्रदिप मलासी, छविलाल चौधरी, सागर कुश्मी, भीमबहादुर चौधरी र नहकुल जिसी यसअघि नै निर्विरोध निर्वाचित भइसकेका थिए ।
३० मंसिर २०८१, आइतवार १३:१३ बजे प्रकाशित