रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौँ । रास्वपाका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । कास्की जिल्ला अदालतका न्यायाधीश कृष्णजंग शाहको इजलासले लामिछानेविरुद्ध आज पक्राउ पुर्जी जारी गरेको हो ।

संसदीय छानबिन विशेष समितिको प्रतिवेदनमा पोखराको सूर्यदर्शन सहकारी ठगीमा उनको संलग्नता देखिएको सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा उल्लेख थियो । सोही प्रतिवेदनका आधारमा अनुसन्धान गर्न प्रहरीले उनीविरुद्ध पक्राउ अनुमति मागेको थियो ।

यसअघि सोही प्रकरणमा लामिछानेका पूर्वसाझेदार एवं पूर्वडीआईजी छविलाल जोशी पक्राउलाई प्रहरीले पक्राउ गरिसकेको छ । जोशीकै बयानका आधारमा लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।

ग्यालेक्सी टीभीबाट रवि बाहिरिनु अघि नै छविलालले गोर्खा मिडिया नेटवर्क छाडेका थिए । यद्यपि सहकारीको रकम आएका बेला उनी सञ्चालक रहेको भन्दै उनीविरुद्ध प्रहरीले पूरक अभियोग लैजाने तयारी गरेको छ ।

संसदीय समितिको प्रतिवेदनको परिच्छेद ८ मा सहकारी ठगी प्रकरण सहकारी ऐन २०७४, मुलुकी अपराध संहिताको किर्तेसम्बन्धी दफा, संगठित अपराध निवारण ऐन २०७० र सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण ऐन २०६४ का कानुन आकर्षित हुने उल्लेख छ ।


२ कात्तिक २०८१, शुक्रवार १७:४५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु