“शेरबहादुर देउवाको काखमा हुर्कन नपाएको भए म आज राजनीतिमा हुने थिइन” : सभापति बलायर

नेपाली काँग्रेसका सुदूरपश्चिम पार्टी सभापति वीर बहादुर बलायरले शेरबहादुर देउवाको काखमा हुर्कन नपाएको भए आफु आज राजनीतिमा नहुने बताएका छन् । नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेशले धनगढीमा आयोजना गरेको दुई दिने प्रशिक्षण कार्यक्रमको समापनमा बोल्दै सभापति बलायर सो कुरा बताएका छन् ।
“काँग्रेस सभापति शेरबहादुर देउवा जीको पठनपाठन मेरै गाउँमा भएको हो” सभापति बलायरले भने–मेरो बाल्यकाल उनकै सामीप्यमा हुर्किएका कारण मैले राजनीतिमा आउने प्रेरणा पाए ।’ सभापति देउवा जनताका लागि निकै त्याग र बलिदान दिएका नेता हुन् । उहाँका काम अहिले हामीले जनता र कार्यकर्तामाझ पुर्याउन नसकेको उनले बताए ।
अहिलेका राजनीतिक दल र नेता कार्यकर्ताले देउवाको पुराना योगदानलाई बिर्सेर गाली गरेकोप्रति दुखी हुँदै बलायरले देउवाबारे सिक्नु पर्ने धेरै उदाहरण रहेको बताएका छन् । देउवाको अहिलेको यो अवस्था र व्यवस्था ल्याउन निकै योगदान रहेको छ ।
अहिले काँग्रेस भएर आफ्नै पार्टी विरोधी कार्यकर्तालाई अब नछोडिने उनले बताएका छन् । पार्टीका नीति र सिद्धान्तमा चल्न सबै नेता कार्यकर्तालाई समेत उनले निर्देशन दिएका छन् । प्रशिक्षण पश्चात् बलायरले नयाँ जोशजागरका साथमा गाउँ -गाउँमा खटिन समेत नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।
अहिलेका नयाँ दलका नेता प्रति लक्षित गर्दै सभापति बलायरले त झन् गर्भबाटै भ्रष्टाचार र खुराफाती सिकेर आएको सभापति बलायरले बताएका छन् । सहकारी ठगी र जनतालाई छल गर्ने नेताहरू कानुनी दायरबाट उम्कन नपाउने समेत दाबी गरेका छन् ।
३० भदौ २०८१, आइतवार ११:५९ बजे प्रकाशित