बैतडीमा कुटपिटबाट श्रीमतीको हत्या, श्रीमान पक्राउ
बैतडी । बैतडी प्रहरीले श्रीमतीको हत्या गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्लाको पाटन नगरपालिका ४ का चिल्लेपानीका ६५ वर्षीय प्रतापसिंह ऐरी रहेका बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए ।
प्रतापले आफ्नी श्रीमती ६० वर्षीया सुना ऐरीलाई कुटपिट गरि हत्या गरेको आरोप छ।
प्रहरीका अनुसार प्रतापको कुटाईबाट घाइते भएकी सुनाको बुधबार डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
घरायसी विवाद कारण मंगलबार दिउँसो श्रीमतीमाथि प्रतापले कुटपीट गरेका थिए । कुटपीटबाट घाइते भएकी सुनाको टाउकोमा गम्भीर चोट लागेको र उपचारका लागि मंगलबार राति नै डडेल्धुरा रेफर गरिएको थियो । उपचारकै क्रममा सुनाको बुधबार साँझ ५ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रतापको कुटपीटबाट उनकी बुहारी २२ बर्षीया भावना ऐरी समेत घाइते भएकी छन् । आफ्नी श्रीमतीमाथि कुटपीट गर्ने बेला झगडा छुट्याउन गएकी भावनाको खुट्टामा चोट रहेको प्रहरी निरीक्षक केसीले बताए ।
प्रकाउ परेका ऐरीलाई इलाका प्रहरी कार्यालय पाटनको हिरासतमा राखिएको छ । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
३१ जेठ २०८१, बिहीवार १२:४५ बजे प्रकाशित































