सर्वोच्चको निर्वाचन क्षेत्र विकास कार्यक्रम रोक्ने आदेशसँगै जोगिने भयो १८ अर्ब
सर्वोच्च अदालतले ‘संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम’ रोक्न आदेश दिएसँगै राज्यकोषको करिब १८ अर्ब ३२ करोड २५ लाख रुपैयाँ जोगिने भएको छ । बुधबार सर्वोच्चको संवैधानिक इजलासले सांसद विकास क्षेत्र कार्यक्रमलाई रोकिदिएपछि राज्यकोषबाट खर्च हुने उक्त रकम जोगिने भएको हो ।
सांसदले बजेट दुरुपयोग गरेको आरोप लागिरहेका बेला सर्वोच्चले उक्त आदेश दिएको हो ।
सरकारले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमका नाममा प्रतिनिर्वाचन क्षेत्रमा प्रतिसांसद ५ करोडका दरले दिने भनी बजेटमा समावेश गरेको छ । सांसद संख्यालाई हेर्दा संघमा उक्त कार्यक्रमका लागि ८ अर्ब २५ करोड रूपैयाँ र प्रदेशमा १० अर्ब सात करोड रुपैयाँ अनावश्यक खर्च हुने थियो । अदालतको आदेशसँगै उक्त रकम जोगिएको हो ।
केही खास जनप्रतिनिधिको वैयक्तिक तजबिजमा खर्च गर्नु योजनाबद्ध विकासको अवधारणा तथा सुशासनको मान्यता अनुकूल नहुने सर्वोच्चको ठहर छ। प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको संवैधानिक इजलासले बुधबार अन्तरिम आदेश जारी गरेको हो।
सर्वोच्चले कार्यकारी अधिकार संविधानले संघीय सरकार र प्रदेश सरकारलाई दिएको उल्लेख गर्दै संघीय र प्रदेश सांसदको काम व्यवस्थापकीय हुने भनेर सम्झाएको छ ।
अघिल्लो सरकारले खारेज गरिसकेको यो कार्यक्रम चालु आर्थिक वर्षबाट ब्युँताइएको थियो ।
७ भदौ २०८०, बिहीवार १२:३२ बजे प्रकाशित































