मुस्ताङको कागबेनीमा बाढीले १५ घर,प्रहरी चौकी र पुल बगायो

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—४ कागबेनीमा आइतबार साँझ आएको बाढीले ठूलो मात्रामा भौतिक संरचनामा क्षति पुर्याएको छ ।  कागबेनी गाउँमाथिको मुक्तिनाथ शीर हुँदै झर्ने शाखा नदी पहिरोका कारण थुनिएपछि आएको बाढीले ठुलो क्षति पुर्‍याएको हो।

अविरल वर्षासँगै आएको बाढीले १५ घर , प्रहरी चौकी भवन, वडा कार्यालय लगायत पूरै बगाएको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले जनाएको छ ।

बाढीका कारण कागबेनी खोलाको दक्षिण पूर्वमा रहेका घरहरु रहेको स्थान पुरै बगरमा परिणत भएको छ।

बाढीले कागबेनी गाउँभित्र रहेका अस्थायी काठेपुल र जोमसोम—कोरला जोड्ने निर्माण सम्पन्न हुने क्रममा रहेको पक्की पुल समेत बगाएको छ। यसैगरी बाढीले होटलमा पार्किङ गरी राखिएका २ वटा गाडी समेत बगाएको बताइएको छ।

कागबेनीमा आइतबार साँझ ठाँडो मुक्तिनाथ कागखोला थुनिएको थियो। जोखिम बढेपछि त्यहाँका स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ ।

जिल्ला प्रशासन कार्यालय मुस्ताङका अनुसार  कागबेनीमा आएको बाढीले मानवीय क्षति नभएपनि ठूलो मात्रामा भौतिक क्षति भएको र  क्षतिको विवरण संकलन गर्ने तयारी भइरहेको छ । साथै सुरक्षा निकाय र सरोकारवाला टोली उद्धारका लागि खटिएका छन्।


२९ साउन २०८०, सोमवार ०८:४७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु