शनिवार रातिदेखि देशभरका नदीको जलसतह बढ्ने
तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाको अनुरोध
शनिवार रातिदेखि देशभरका नदीको जलसतह बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
शनिवार र आइतवार कोशी, कन्काई, कमला र बागमतीका सहायक नदीमा जलसतह सतर्कता तहमा पुग्नसक्ने महाशाखाको पूर्वानुमान छ ।
आइतवार र सोमवार बबई, पश्चिम राप्ती, कर्णाली, महाकालीका सहायक नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
आज ,भोलि , पर्सि (शुक्रवार )भने देशका प्रमुख नदीमा जलसतह केही बढ्ने पूर्वानुमान रहेको छ । कोशी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीमा जलसतह केही बढ्ने महाशाखाले जनाएको छ ।
आज ताप्लेजुङ, पाँचथर, ईलाम, संखुवासभा, झापा, मोरङ, सुनसरी, सप्तरी, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, नवलपरासी (पूर्व), नवलपरासी (पश्चिम), रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, डोटी, डडेल्धुरा, बैतडी, दार्चुला र आसपास भई बहने केही स-साना नदीहरूमा बहाव बढ्न सक्ने पूर्वानुमान रहेको छ । यी क्षेत्रका नदी तटिय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

२५ साउन २०८०, बिहीवार १३:२९ बजे प्रकाशित













