बैतडीमा जीप दुर्घटना हुँदा दुईजना घाइते
बैतडी । बैतडीमा जीप दुर्घटना हुँदा दुईजना घाइते भएका छन् । जिल्लाको दोगडाकेदार गाउँपालिका–३ श्रीकोटस्थित तारलमा जीप दुर्घटना हुँदा दुईजना घाइते भएका हुन्।
बैतडीको गन्नाबाट बझाङ जाँदै गरेको सुपप्र ०१–००१ ज १३५२ नम्बरको जीप गएराति पौने १२ बजे तारलमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ। दुर्घटनामा परी जिप चालक बैतडीको डिलाशैनी गाउँपालिका–१ का हेमन्त राना र सोही ठाउँका सहचालक उमेश राना घाइते भएका छन्।
घाइते चालकको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि डडेलधुरा रेफर गरिएको छ भने सहचालकको जिल्ला अस्पतालमै उपचार भइरहेको छ। जीपमा चालक र सहचालक मात्रै सवार थिए। जीप सडकबाट १०० मिटर तल खसेको थियो। जीप दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
१२ साउन २०८०, शुक्रवार ०९:०५ बजे प्रकाशित













