एसएसपी पाललाई कारबाही सिफारिस
प्रहरी कार्यालयभित्रै महिला प्रहरीलाई यौन दुर्व्यवहार गरेको घटनामा नेपाल प्रहरीका एसएसपी योगबहादुर पालमाथि कारबाही सिफारिस भएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले प्रारम्भिक छानबिन गरी पालमाथि कारबाही गर्न प्रतिवेदन प्रहरी प्रधान कार्यालयमा पठाएको छ ।
गत १९ जेठमा उनले बिदामा जान लागेकी एक महिला हवल्दारलाई आफ्नो नेपाल प्रहरी प्रदेश प्रहरी कार्यालय, महेन्द्रनगर कञ्चनपुरस्थित निवासमा बोलाएर यौन दुर्व्यवहार गरेका थिए । यो विषयमा ती महिलाले सुदूरपश्चिम प्रदेश कार्यालयमा उजुरी दिएकी थिइन् ।
एसपी श्यामसिंह चौधरी नेतृत्वको छानबिन समितिले घटनामा एसएसपीले दुर्व्यवहार गरेको निष्कर्ष निकाल्दै कारबाहीको सिफारिस गरेको हो । एसएसपी पाललाई सोही दिन नै जिम्मेवारीबाट भने हटाइसकिएको छ ।
प्रहरी प्रवक्ता डिआइजी कुवेर कडायतले छानबिन प्रतिवेदन प्राप्त भएको र त्यसउपर कारबाही अघि बढेको बताए । कानुन शाखाको रायअनुसार एसएसपी पालमाथि कानुनी कारबाही अघि बढ्ने उनको भनाइ छ ।
प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार उनलाई निलम्बनका लागि गृह मन्त्रालयमा पत्राचार भएको छ। प्रहरी आचरणको गम्भीर उल्लंघन भएकाले निलम्बन गर्न लागिएको हो।
बिदामा घर जान लागेकी सहायक हवल्दारलाई आफ्नो निवासमा बोलाएर एसएसपी पालले ‘तिमी मलाई मन पर्यो, आज गुड फ्राइडे’ मनाउनुपर्छ भन्दै दुर्व्यवहार गरेको आरोप लागेको छ ।
ती महिला प्रहरीले प्रतिकार गरी उनको कोठाबाट निस्किएर सहकर्मीलाई त्यसबारे जानकारी गराई प्रदेश कार्यालय धनगढीमा उजुरी गरेकी हुन् । एसएसपी पालले भने धेरै बिदा बसेको विषयमा आफूले गाली मात्र गरेको दाबी गरे । तर, एसएसपी पाल विगतमा पनि यस्ता घटनामा कारबाहीमा परेका अधिकृत हुन् ।
१ असार २०८०, शुक्रवार १३:५६ बजे प्रकाशित












