विवादित वाक्य हटाएर नेपाल आयो ‘आदिपुरुष’
विवादित संवाद फिल्मबाट हटाइएपछि नेपाली सेन्सर बोर्डले दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’लाई प्रदर्शन अनुमति दिएको छ ।
बिहीवार राती ८ बजे सेन्सर बोर्डका अध्यक्ष अनिलकुमार दत्तले हस्ताक्षर गरेको अनुमति पत्र वितरकलाई दिएका हुन् ।
यस संगै धनगढीकाे एसटीएस सिनेमा हलमा पनि उक्त फिल्म प्रदर्शनमा आउने भएको हाे।
फिल्ममा समावेश ‘जानकी भारतकी छोरी हुन्’ भन्ने वाक्यमा आपत्ति जनाउँदै बिहीवार अपरान्ह बोर्डले प्रदर्शन अनुमति दिन अस्वीकार गरेको थियो । भारतीय वितरकले फिल्मबाट विवादित वाक्य हटाएर नेपाल पठाएपछि मात्र बोर्डले अनुमति दिएको हो ।
सेन्सर बोर्डको अनुमतिपछि ‘आदिपुरुष’ शुक्रबार नेपालमा रिलिज हुने पक्का भएको छ । तर, काठमाडौं महानगरका मेयर बालेन शाहको फेसबुक स्टाटसले भने संशय पैदा गराएको छ । उनले भारतमा समेत उक्त विवादित वाक्य तीन दिनभित्र नहटाए कुनै पनि हिन्दी फिल्म काठमाडौं महानगरमा प्रदर्शन अनुमति नदिने उल्लेख गरेका छन् ।
बालेनको सचिवालयले पनि आफूहरुले तीन दिन प्रतीक्षा गर्ने तर उक्त वाक्य हटाएर माफी नमागेसम्म काठमाडौंमा कुनैपनि हिन्दी फिल्म प्रदर्शन गर्न अनुमति नदिने र सबै हललाई यसबारे पत्राचार गरिने उल्लेख गरेको छ ।
प्रभास र कृति सेनन स्टारर आदिपुरुष रामायणको कथावस्तुमा आधारित छ । यो फिल्मलाई नेपालमा ब्यांकटेस इन्टरटेनमेन्टले रिलिज गर्न लागेको हो ।
१ असार २०८०, शुक्रवार १३:२४ बजे प्रकाशित












