सुदूरपश्चिमका तराई भूभागमा आज तातो हावा चल्ने सम्भावना

सुदूरपश्चिम, लुम्बिनी र गण्डकी प्रदेशका तराईका भूभागमा अझै केही दिन तातो हावा चल्ने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

महाशाखाले नियमित बुलेटिनमार्फत असार १ गतेसम्म सुदूरपश्चिम, लुम्बिनी र गण्डकी प्रदेशका तराईका जिल्लाको तामक्रम नघट्ने प्रक्षेपण गरेको छ।

‘आगामी केही दिनसम्मको लागि देशभरको तापक्रमको अवस्थाको विश्लेषण अनुसार सुदूरपश्चिम, लुम्बिनी र गण्डकी प्रदेशको तराईका धेरैजसो भूभागहरूमा अत्याधिक गर्मीको सम्भावना अझै रहने देखिनुका साथै बागमती प्रदेशको तराईका भूभाग र मधेश प्रदेशको पश्चिमी भूभागमा थोरै तापक्रम घटे तापनि अत्याधिक गर्मीको सम्भावना यथावत् रहने देखिएको छ । तसर्थ, ती भूभागहरूमा आगामी चार दिन सम्भावना यथावत रहने देखिएकोले त्यसबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ,’ महाशाखाको नियमित बुलेटिनमा भनिएको छ।

यता मधेश प्रदेशको पूर्वी भूभागमा तापक्रम केही घट्ने सम्भावना देखिए तापनि गर्मीको सम्भावना यथावत रहेको बताइएको छ।

त्यस्तै, देशको पश्चिमी पहाडी भूभागका उपत्यका तथा खोँचहरूमा पनि तापक्रम यथावत् रहन सक्ने सम्भावना रहेको महाशाखाले बताएकोछ ।

साथै यस वर्ष मनसुनी वर्षाको आगमन पनि औसत मिति ९जुन १३ तारिख० भन्दा एक-दुई दिन ढिला हुने सम्भावना रहेको महाशाखाले बताएको छ।

कसरी बच्ने ?

तातो हावा तथा ‘लू’ बाट थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदिको लक्षण देखापर्ने महाशाखाले भनेको छ।

यसबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने, हल्का लुगा लगाउने, सुती कपडा पहिरिने, बाहिर निस्किँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित ९पटक–पटक० पानी तथा झोल पदार्थ ९जुस, सर्बत, आदि० प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिन महाशाखाले सुझाएको छ।

 

 


३१ जेठ २०८०, बुधवार ०७:३७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु