अभ्यास खेलमा नेपाल युएईसँग पराजित
आइसिसी एकदिवसीय विश्वकपअन्तर्गत ग्लोबल छनोटको अभ्यास खेलमा नेपाल युएईसँग तीन विकेटले पराजित भएको छ । जिम्बावेमा मंगलबार भएको अभ्यास खेलमा पहिलो ब्याटिङ गरेको नेपालले ४९ ओभरमा सबै विकेट गुमाएर दुई सय ७६ रन बनाएको थियो । प्रत्युत्तरमा युएईले ४९.५ ओभरमा सात विकेटको क्षतिमा दुई सय ७८ रन बनाएको थियो ।
युएईविरुद्ध उत्कृष्ट ब्याटिङ गर्ने क्रममा नेपालले पहिलो विकेटका लागि ८७ रनको साझेदारी गरेको थियो । ओपनर कुशल भुर्तेल र आसिफ शेखले १८.२ ओभरसम्म साझेदारी गरेका थिए । कुशलले ३५ बल सामना गरी ६ चौकाको सहयोगमा ३९ रन बनाए ।
त्यसपछि आसिफले भीम सार्कीसँग दोस्रो विकेटका लागि ५६ रनको साझेदारी गर्दै नेपाललाई ३२.६ ओभरमा १४३–२ को बलियो स्थितिमा राखे । भीमले ४६ बलमा २५ रन जोडे । आसिफले एक सय चार बलमा सर्वाधिक ७६ रनको योगदान दिए । उनले आफ्नो इनिङ्समा सात चौका र एक छक्का प्रहार गरेका थिए । त्यसपछि कुशल मल्ल र आरिफ शेखले चौथो विकेटका लागि ८८ रनको साझेदारी गर्दै नेपाललाई ४४.१ ओभरमा २३५/४ को स्थितिमा राखे । आरिफले ३३ बलमा तीन चौका र एक छक्का प्रहार गरी ३५ रन बनाए । नेपालका लागि कुशलले ३० बलमा एक चौका र चार छक्का प्रहार गर्दै ४६ रन जोडे ।
प्रत्युत्तरमा युएईका लागि रोहन मुस्तफाले ७० रनको नटआउट इनिङ्स खेले । उनले ५६ बलमा नौ चौका र एक छक्का प्रहार गरेका थिए । दोस्रो ओपनर आयास शर्माले ४९ बलमा ५० रन जोड्दा नौ चौका प्रहार गरे । बसिल अहमदले २८ बलमा २७ रन बनाए । बलिङमा सोमपाल कामीले ५७ रनमा दुई विकेट लिए । ललितनारायण राजवंशीले ४९ रन खर्चंदै दुई विकेट हात पारे ।
३१ जेठ २०८०, बुधवार ०७:३० बजे प्रकाशित













