एकै दिन जोशीपुरका दुई विज्ञप्ति : विद्यालय बिदा र बिदा स्थगित
कैलाली । कैलालीको जोशीपुर गाउँपालिकाले एउटै विषयमा फरक फरक दुई विज्ञप्ति जारी गरेको छ । अत्यधिक गर्मी बढेपछि विद्यालय बिदा दिन भन्दै विज्ञप्ति जारी गरेको गाउँपालिकाले त्यस लगत्तै फेरी बिदा नदिन भन्दै विज्ञप्ति जारी गरेको छ ।
आजै जारी गरिएको पहिलो विज्ञप्तिमा आइतबार देखी ५ दिन सम्म गाउँपालिका भित्रका सम्पूर्ण विद्यालय बिदा गर्ने निर्णय गरिएको उल्लेख गरिएको छ । आजै जारी गरिएको अर्को विज्ञप्तिमा उक्त बिदा स्थगित गरिएको उल्लेख छ ।

‘गर्मी अत्यधिक बढेपछि हामीले बिदा दिने निर्णय गरेका हौँ ’ गाउँपालिका अध्यक्ष चित्रबहादुर चौधरीले भने ‘फेरी खोप लगाउनु पर्ने कुरा आएपछि बिदा स्थगित गरेका हौँ ।’

बिदा दिने निर्णय भएको विज्ञप्ति र बिदा स्थगित गरिएको विज्ञप्ति दुबै गाउँपालिका अध्यक्ष चौधरीले जारी गरेका हुन् ।
२६ जेठ २०८०, शुक्रवार १६:४३ बजे प्रकाशित













