सत्ता गठबन्धनको बैठक आज पनि, लेखक भन्छन्– नमिल्ने कुरै छैन
मन्त्रालय भागवण्डाको टुंगो लगाउन सत्ता गठबन्धनको बैठक आज पनि बस्दैछ । आज बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा मन्त्रालय भागवण्डाका साथै सरकारका न्यूनतम साझा कार्यक्रमबारे छलफल हुने नेताहरूले बताएका छन् ।
कुन दलले कति मन्त्रालय लिने भन्नेमा कुरा नमिल्दा सरकारले पूर्णता पाउन सकेको छैन । हिजो बसेको सत्ता गठबन्धनको बैठकमा सहमति नजुटेपछि आज फेरि बस्न लागेको हो ।
मन्त्रालयको भागबारे सबै दलहरू आ–आफ्नै अडानमा छन् । कांग्रेसले आठ मन्त्रालय पाउनुपर्ने अडान लिएको छ । त्यस्तै, जसपा र नेकपा एसले तीन–तीन मन्त्रालयको दाबी छाडेका छैनन् । त्यस्तै लोसपाले दुईवटा मन्त्रालय पाउनुपर्ने अडान राखेको छ ।
कांग्रेस नेता रमेश लेखक भने गठबन्धनमा कुरा मिल्ने र चाँडै मन्त्रिपरिषद् बिस्तार हुने दाबी गर्छन् । ‘मन्त्रिपरिषद् चाँडै विस्तार हुन्छ, नमिल्ने कुरै छैन’, लेखक भन्छन्, ‘गठबन्धनलाई दिगो बनाउन सबै दल भित्रैबाट लागिरहेका छन् ।’
१५ चैत २०७९, बुधवार ०७:४७ बजे प्रकाशित































