आज कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक बस्दै
कैलाली । सुदूरपश्चिम प्रदेशमा आज कांग्रेस संसदीय दलको बैठक बस्दै छ ।
आज बिहान ८ बजे संसदीय दलको कार्यालयका बैठक बस्न लागेको प्रदेश सभा सदस्य मेघराज खड्काले जानकारी दिए । आजै सभामुख मनोनयन तथा मुख्यमन्त्री दाबी पेश गर्ने अन्तिम दिन हो ।
सभामुख निर्वाचनको अघिल्लो दिन तथा मुख्यमन्त्री दाबी पेश गर्ने दिन बस्दै गरेको कांग्रेस संसदीय दलको बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ । अहिले सम्म नागरिक उन्मुक्ति पार्टीले कुन गठबन्धनलाई साथ दिने भन्ने बारे आधिकारिक निर्णय गरिसकेको छैन ।
कांग्रेस आफ्नो गठबन्धनमा आए मुख्यमन्त्री दिन तयार भएको जनाइसकेको छ । यस बिषयमा पनि आजको बैठकमा छलफल हुने जनाइएको छ । त्यस्तै नागरिक उन्मुक्ति एमाले गठबन्धनमा लाग्दा कांग्रेस गठबन्धन अल्पमतमा पर्ने छ । त्यस्तो अवस्थामा सभामुख पदमा उम्मेदवारी दर्ता गर्ने या नगर्ने भन्ने बिषयमा पनि निर्णय हुने जनाइएको छ ।
५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा कांग्रेसका १९ सांसद छन् ।
२७ पुस २०७९, बुधवार ०६:२९ बजे प्रकाशित































