आयोगले गर्यो समानुपातिकतर्फको सिट बाँडफाँट, कुन दलको कति?
निर्वाचन आयोगले समानुपातिकतर्फको सिट बाँडफाँट गरेको छ। समानुपातिकतर्फको मतगणना सकिएसँगै आयोगले मंगलबार दलहरुले समानुपातिकबाट पाउने सांसद संख्या टुंगो लगाएको हो।
आयोगका अनुसार प्रतिनिधिसभामा समानुपातिकतर्फ नेकपा एमालेले ३४, नेपाली कांग्रेसले ३२, नेकपा माओवादी केन्द्रले १४, राष्ट्रिय स्वतन्त्र पार्टीले १३, राष्ट्रिय प्रजातन्त्र पार्टीले ७ तथा जनता समाजवादी पार्टी र जनमत पार्टीले ५/५ सिट पाएका छन्।
प्रतिनिधिसभाको प्रत्यक्षतर्फको भने यसअघि नै मतपरिणाम सार्वजनिक भइसकेको छ। प्रत्यक्षतर्फ कांग्रेसले ५७, एमालेले ४४, माओवादी केन्द्रले १८, एकीकृत समाजवादीले १०, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टीले समान ७ सिट जितेका छन्।
यस्तै लोकतान्त्रिक समाजवादीपार्टीले ४, नागरिक उन्मुक्ति पार्टीले ३ तथा राष्ट्रिय जनमोर्चा, नेपाल मजदूर किसान पार्टी र जनमत पार्टीले समान एक निर्वाचन क्षेत्रमा जित हात पार्दा पाँच निर्वाचन क्षेत्रमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्।
प्रत्यक्षतर्फ १० सिट जिते पनि ३ प्रतिशत थ्रेसहोल्ड कटाउन नसक्दा नेकपा एकीकृत समाजवादी भने समानुपातिकको सिट बाँडफाँटमा पर्न सकेन।
प्रत्यक्ष र समानुपातिक गरी प्रतिनिधिसभामा नेपाली कांग्रेस पहिलो दल बन्न सफल भएको छ। संसदमा उसको सांसद संख्या ८९ पुगेको छ। दोस्रो स्थानमा रहेको एमाले ७८ सिटसहित दोस्रो दल बन्दा माओवादी ३२ सिट सहित तेस्रो दल बनेको छ।
पहिलो पटक चुनावमा होमिएको राष्ट्रिय स्वतन्त्र पार्टी २० सिटसहित चौथो ठूला दल बन्न सफल भएको छ।
२० मंसिर २०७९, मंगलवार २१:४६ बजे प्रकाशित































