स्विट्जरल्यान्डलाई हराउँदै पोर्चुगल १६ वर्षपछि विश्वकपको क्वार्टरफाइनलमा, रामोसको ह्याट्रिक
गोन्सालो रामोसको ह्याट्रिक प्रेरित स्विजरल्यान्डलाई कतारमा जारी फिफा विश्वकप २०२२ अन्तिम १६ अन्तर्गतको खेलमा ६–१ गोलको नतिजमा पराजित गर्दै पोर्चुगल क्वार्टरफाइनल प्रवेश गरेको छ ।
लुसेल रंगशालमा सम्पन्न प्रि–क्वार्टरफाइनलको अन्तिम खेलमा स्विट्जरल्यान्डलाई हराउँदै पोर्चुगल १६ वर्षपछि क्वार्टरफाइन प्रवेश गरेको हो।

खेलको १७औं मिनेटमा रामोसले फेलिक्सको पासमा गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए ।
कप्तान क्रिस्टियानो रोनाल्डो बिनै मैदान उत्रिएको पोर्चुगलको अग्रता पेपेले ३३औं मिनेटमा दोब्बर पारे । ब्रुनाे फर्नान्डेजको पासमा हेडरमार्फत सुन्दर गोल गर्दै ३९ वर्षीए पेपेले पहिलो हाफ अगाडी पोर्चुगलको अग्रता २–० बनाएका थिए ।

स्विट्जरल्यान्ड माथि निरन्तर दबाब बनाएको पोर्चुगलका लागि ५१औं मिनेटमा रामोसले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरे । त्यसको चार मिनेट नबित्दै रामोसको पासमा राफेल जुरेरियोले पोर्चुगलका लागि चौथो गोल गरे ।
खेलको ५८औं मिनेटमा स्विट्जरल्यान्डका म्यानुयल एकान्जीले एक गोल फर्काएका थिए ।
रामोसले ६७औं मिनेटमा फिलिक्सकै पासमा गोल गर्दै ह्याट्रिक पुरा गरे । उनी जारी विश्वकपमा पहिलो ह्याट्रिक गर्ने खेलाडी बने ।

इन्जुरी समयमा सब्सिट्युट खेलाडी राफेल लियोले गोल गर्दै पोर्चुगलको जित ६–१ ले सुनिश्चित गरेका थिए । लियो खेलको ८७औं मिनेटमा ब्रुनो फर्नान्डेजको स्थानमा मैदान प्रवेश गरेका थिए । जितसँगै पोर्चुगलले क्वार्टरफाइनलमा मोरक्कोसँगको भेट पक्का गरेको छ ।
माेरक्काे सन् २०१० काे विश्वकप विजेता स्पेनलाई पेनाल्टी सुटआउटमा हराउँदै पहिलाे पटक विश्वकपकाे क्वार्टरफाइनल पुगेकाे हाे ।
विश्वकपमा पहिलो पटक आमनेसामने भएका पोर्चुगल र स्विजरल्यान्डको भेट यूईएफए नेसन्स लिगमा दुई पटक भएको छ । दुई मध्य एक खेल पोर्चुगलले र एक खेल स्विट्जरल्यान्डले जितेका छन् ।

सन् १९९६ को विश्वकपमा तेस्रो भएको पोर्चुगल २००६ मा जर्मनीमा आयोजना भएको विश्वकपमा चौथो भएकोे थियो । त्यसयता अन्तिम १६ भन्दा माथि स्थान बनाउन सकेको थिएन । अन्तिम पटक रुसमा आयोजना भएको विश्वकपमा अन्तिम १६मा उरुग्वेसँग २–१ गोलको नतिजामा पराजित हुँदै बाहिरिएको थियो ।
सन् १९३४ र १९३८ मा लगातार दुई पटक कवार्टरफाइनल पुगेको स्विजरल्यान्डले १९५४ यता अन्तिम १६ भन्दा माथिको यात्रा तय गर्न सकेको छैन ।
२१ मंसिर २०७९, बुधवार ०५:५१ बजे प्रकाशित































