समानुपातिक समेत जोड्दा सुदूरपश्चिममा कांग्रेस ठुलो दल, एमाले तेस्रो शक्ति
सुदूरपश्चिम प्रदेशका सबै निर्वाचन क्षेत्रको प्रत्यक्ष तर्फको मत परिणाम सार्वजनिक भइसकेको छ । ३२ निर्वाचन क्षेत्र मध्ये प्रत्यक्षमा कांग्रेसले सबै भन्दा धेरै १२ क्षेत्रमा जित हात पारेको छ। त्यस्तै प्रत्यक्ष तर्फ माओवादी केन्द्रले ८ निर्वाचन क्षेत्रमा जित्यो । नागरिक उन्मुक्ति पार्टीले ५ क्षेत्रमा विजयी हुँदा नेकपा एमाले र नेकपा एकीकृत समाजवादीले समान ३÷३ क्षेत्रमा जितेका छन् । सुदूरपश्चिम प्रदेशमा स्वतन्त्र १ जना उम्मेदवार विजयी भए ।
प्रत्यक्ष तर्फको परिणामलाई मात्रै आधार मान्दा यहाँ कांग्रेस पहिलो दल, माओवादी केन्द्र दोस्रो र नागरिक उन्मुक्ति पार्टी तेस्रो स्थानमा छन् । एमाले र नेकपा एस चोथौँ दलका रूपमा स्थापित भएका छन् ।
तर, समानुपातिक मतलाई समेत आधार मान्दा यहाँको शक्ति सन्तुलन हेरफेर हुन्छ । बाजुरा बाहेकको समानुपातिक मत परिणाम सार्वजनिक भएको छ । यो अनुसार एमाले सबै भन्दा अघि छ । २,४८,८४० मत सहित एमाले अघि हुँदा २,४३,०३९ मत सहित कांग्रेस दोस्रो स्थानमा छ ।
यहाँ माओवादी केन्द्रको १,१८,९०३ मत, नागरिक उन्मुक्तिको ९८,५५४ मत, राप्रपाको ४३,८०८ मत र नेकपा एकीकृत समाजवादीको ४१,८३९ मत छ ।
यो मत परिणाम अनुसार समानुपातिक तर्फ एमाले र कांग्रेसले समान ७÷७ सांसद पाउने छन् । त्यस्तै माओवादी केन्द्रले ३, नागरिक उन्मुक्ति पार्टीले २ सांसद पाउने छन्। यहाँ नेकपा एकीकृत समाजवादी र राप्रपाबाट १÷१ सांसद हुने देखिएको छ ।
समानुपातिक र प्रत्यक्ष तर्फबाट १९ सांसद सहित कांग्रेस पहिलो दल बन्ने छ । त्यस्तै माओवादी ११ सांसद सहित दोस्रो र एमाले १० सांसद सहित तेस्रो बन्ने छ । यहाँ नागरिक उन्मुक्ति पार्टी चौथो शक्ति हुने छ । यसका ७ जना सांसद हुने छन् । नेकपा एकीकृत समाजवादी ४ सांसद सहित पाचौ र राप्रपा १ सांसद सहित छैटौँ दल बन्ने छ ।
१८ मंसिर २०७९, आइतवार ११:११ बजे प्रकाशित































