डा. केसी काठमाडौं जान सकारात्मक देखिए
धनगढीमा विगत १० दिनदेखि अनशनरत चिकित्सा शिक्षा क्षेत्र सुधारका अभियन्ता डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल भएको चिकित्सकले बताएका छन् । चिकित्सा क्षेत्रको सुधारसहित विभिन्न माग राखेर आमरण अनसनमा बसेका केसीको स्वास्थ्य स्थितिमा गम्भीर समस्या आएको आशंका सेती प्रादेशिक अस्पतालले विज्ञप्ति मार्फत जनाएको छ ।
आज बुधबार पनि अस्पतालले एक विज्ञप्ति जारी गर्दै डा. केसीको शरीरमा पोषणतत्व र पानीको असन्तुलनले बेहोस हुन सक्ने बताएको छ । त्यस्तै उनको पेटमा कडा खालको अल्सर भइ रक्तश्राव भएको आंशका समेत अस्पतालले गरेको छ ।
उनको अवस्था बिग्रिएपछि अस्पतालले विशिष्ट सुविधासम्पन्न अस्पतालमा लैजान ५ दिन अघि नै सल्लाह दिइसकेको छ ।
अनशन बसेको दोस्रो दिनदेखि नै डा. केसीको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई धनगढीस्थीत सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ ।
जिल्ला प्रशासन कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार डा केसीलाई काठमाडौं लैजाने तयारी भइरहेको छ ।
‘उहाँको अवस्था धेरै नै नाजुक भइसक्यो काठमाडौं नलगेर हुदैँन, उहाँपनि पोजेटिभ देखिनु भएको छ, उनले भने ।,’ डा. केसीलाई कसरी र के मा लग्दा सहज हुन्छ भनेर छलफल भइरहेको जोशीले बताए ।
मंगलबार डा. केसीलाई काठमाडौं लैजान नेपाली सेनाको स्काइ ट्रक धनगढी विमानस्थल पुगेर फर्किएको थियो । उनले नजाने अडान राख्दै आएपछि बिमान फर्किएको थियो ।

५ असोज २०७९, बुधवार १४:२८ बजे प्रकाशित













