टी–२० अन्तर्राष्ट्रिय क्रिकेट: नेपालले आज केन्यासँग खेल्दै
५ खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको पहिलो खेलमा नेपालले आज ९बिहीबार० केन्यासँग प्रतिस्पर्धा गर्दैछ ।
नैरवीको जिमखाना क्लब मैदानमा नेपाल केन्याबीचको खेल दिउँसो ३ः४५ बजे सुरु हुने छ । पहिलो खेलमा राम्रो प्रदर्शन गर्दै सुखद नतिजा निकाल्ने लक्ष्यमा नेपाल रहेको छ । विदाइ कार्यक्रममा मुख्य प्रशिक्षक मनोज प्रभाकरले टिमले राम्रो प्रदर्शन गर्नेमा आफू विश्वस्त रहेको बताएका थिए ।
राम्रो नतिजा निकाल्ने भनिए पनि भिसा समस्याका कारण सबै खेलाडी एकै पटक केन्या जान सकेनन् । ११ खेलाडी, मुख्य प्रशिक्षक प्रभाकरसहितको टिम सोमबार राति नै केन्या गएको थियो । तर सोमपाल कामी, विवेक यादव, आदिल आलम, बसिर अहमद र शाहब आलम भने भिसा समस्याको कारण टिमसँग जान पाएका थिएनन् ।
सोमपाल कामी र विवेक यादवको भने भिसा आएर मंगलबार राति नै केन्या प्रस्थान गरेका छन् भने बाँकी ३ खेलाडी अझै नेपालमै छन् ।
दोस्रो खेलमा नेपालले १० गते प्रतिस्पर्धा गर्नेछ । त्यस्तै, १२, १३ र १४ गते तेस्रो, चौथो र पाँचौ खेल खेल्नेछ । यसपछि तीन खेलको एकदिवसीय सिरिज खेल्नेछ । पहिलो खेल भदौ १७ दोस्रो १८ र अन्तिम खेल २० गते खेल्नेछ ।
९ भदौ २०७९, बिहीवार ११:१३ बजे प्रकाशित












