डडेल्धुरा अस्पतालमा बालिकाको मृत्यु
डडेल्धुरा अस्पतालमा एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा भागेश्वर गाउँपालिका–५ शिराड घर भएका प्रकाश थापा मगरकी पाँच वर्षीया छोरी यनुसा थापा मगर हुन्। निमोनियाको आशंकामा बिहीबार बिहान ५ बजे अस्पताल भर्ना भएकी थापामगरको करिब ७ बजे मृत्यु भएको अस्पताल स्रोतले बताएको छ।
बिरामी बालिकालाई अस्पताल पुगाएको तीन घण्टा हुँदासम्म डाक्टर नआएपछि मृतक बालिकाका आफन्तले डडेल्डधुरा प्रमुख जिल्ला अधिकारीदेखि अस्पताल व्यवस्थापन समितिका अध्यक्षसम्मलाई गुहारेको बताएका छन्।
डाक्टरको लापरबाहीले बालिकाको मृत्यु भएको आफन्तहरूको आरोप छ। अस्पतालको लापरबाहीका कारण बालिकाको मृत्यु भएको भन्दै मृतक बालिकाको आफन्तले अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझाको राजीनामा र निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा चेतराज भट्टको सरुवा हुनुपर्ने माग गर्दै शव उठाएका छैनन्।
अस्पतालमा डाक्टर हुँदाहुँदै पनि बिरामी बालिकाको उपचारका लागि नआउँदा बालिकाको ज्यान गएको स्थानीय राजेन्द्र थापाको भनाइ छ। राति नै श्वास फेर्न गाह्रो भएर अस्पताल भर्ना भएकी यमुनालाई अस्पतालले आइसियुमा राखेको अस्तालका निमित्त मेसु भट्टको दाबी छ।
उनले भने, ‘दुई तीनदेखि उच्च ज्वरोसहित निमोनिया भएको रहेछ, हिजो राति १२ बजेतिर श्वास फेर्न गाह्रो भएपछि आज बिहान अस्पताल आएका थिएँ, उच्च समस्याले आईसियुमा उपचार गदाँ गर्दै मुत्यु भएको हो।’ अस्पताल विकास समितिका अध्यक्ष ओझाले भने आफूलाई ७ बजे जानकारी आएको र आफूले तत्काल उपचारको व्यवस्थापन गरेको दाबी गरे।
१९ जेठ २०७९, बिहीवार १५:२६ बजे प्रकाशित































