नेपालमा पनि मङ्की पक्स संक्रमणको जोखिम

हाल विश्वका विभिन्न देशमा फैलिरहेको सरुवा रोग मङ्की पक्सप्रति सचेत रहन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ। नेपाल पनि उक्त रोगको जोखिममा रहेको भन्दै मन्त्रालयले सचेत रहन सबैमा आग्रह गरेको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले नेपालमा हालसम्म मङ्की पक्सका संक्रमित नदेखिएको बताए। तर, संक्रमण हुने जोखिम रहेकाले सचेत रहनुपर्ने उनको भनाइ छ।

मङ्की पक्स भाइरसबाट सर्ने एक किसिमको सरुवा रोग हो। सङ्क्रमित व्यक्ति वा पशुसँग नजिकको सम्पर्कमा आउँदा यो रोग सर्छ। जनावर तथा संक्रमित मानिसको र्‍याल, घाउ, खटिरा, शरीरबाट निस्कने तरल पदार्थ र दूषित सतह र सामग्रीबाट यो रोग सर्ने गर्दछ।

श्वासनली, आँखा, नाक वा मुख काटिएको, टोकिएको वा फुटेको छालाजस्ता अङ्गबाट भाइरस शरीरमा प्रवेश गरेर पनि यो रोग सर्ने गर्दछ। बाँदर, मुसा, लोखर्केलगायत जनावर, भाइरस रहेको ओछ्यान र लुगाबाट पनि मङ्की पक्सको भाइरस सर्ने गर्छ।

यो रोग लागेमा सुरुवातमा ज्वरो आउँछ। सामान्य ज्वरो सुरु भएको १ देखि ३ दिनभित्रमा छालामा दाग देखिने, अनुहार, हल्केला र पैतालामा डाबर देखापर्ने, डाबर परिवर्तन भइ फोका हुँदै पाप्रा लागेर उप्किने जस्ता लक्षण देखिन्छ। यस्तै, टाउको, ढाड र मांसपेशी दुख्ने, शरीरका ग्रन्थी बढ्ने लक्षण पनि देखा पर्छ। यो रोगको लक्षण १४ देखि २८ दिनसम्म रहन सक्छ र सामान्यता आफैँ हराउने गर्दछ।

बालबालिका र रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिमा आँखामा सङ्क्रमण र दृष्टि गुम्नु, अन्य जीवाणुको सङ्क्रमण, निमोनिया, मस्तिष्क ज्वरो, गर्भ खेर जानु र मृत्युजस्ता सम्भावित जटिलता देखापर्ने मन्त्रालयले जनाएको छ।

स्वास्थ्य मन्त्रालयले मङ्की पक्सको सामान्य लक्षण, जस्तै ज्वरो आएको एकदेखि तीन दिनभित्र अनुहार, हल्केला र पैतलामा दाग वा डाबर देखिएमा मन्त्रालयको हटलाइन नम्बर १११५ मा सम्पर्क गर्न अनुरोध गरेको छ।


१४ जेठ २०७९, शनिवार ११:१९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु