कञ्चनपुरमा झण्डै तीन हजार सुरक्षाकर्मी निर्वाचनमा खटिने
वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गराउनका लागि कञ्चनपुरमा झण्डै तीन हजार सुरक्षाकर्मी परिचालन हुने भएका छन्। जिल्ला सुरक्षा समितिले यहाँका निर्वाचन केन्द्रलाई अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी तीन भागमा वर्गीकरण गरेर आवश्यक सुरक्षा प्रबन्ध मिलाएको छ।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले निर्वाचन शान्तिपूर्ण वातारणमा सम्पन्न गराउनका लागि रणनीतिक सुरक्षा योजनासहित जिल्लाको सुरक्षा कायम गर्न तयार रहेको बताए। “मतदानस्थलमा भित्री घेरामा म्यादी र नेपाल प्रहरी खटिन्छन्”, उनले भने, “त्यो भन्दा बाहिर र चोकमा सशस्त्र प्रहरीले गस्तीलगायत सुरक्षा निगरानी बढाउनेछ।”
उनले सबैभन्दा बाहिरी घेरामा नेपाली सेनाको गस्ती तथा सुरक्षा पहरा रहने जानकारी दिए। निर्वाचनका बेला हुनसक्ने सम्भावित आपराधिक गतिविधि नियन्त्रण तथा निर्वाचन सुरक्षाका लागि यहाँका नौवटै पालिकामा सुरक्षा निकायले सक्रियता बढाएका छन्।
प्रजिअ पाण्डेका अनुसार कञ्चनपुरका नौवटै पालिकामा गरेर दुई हजार ८०० देखि तीन हजारको सङ्ख्यामा सुरक्षाकर्मी निर्वाचनमा खटिने छन्।
२२ वैशाख २०७९, बिहीवार २१:५४ बजे प्रकाशित












