कञ्चनपुरमा मतभारका आधारमा भागबण्डा गर्ने गठबन्धनको निर्णय

निर्वाचनको मिति नजिकिदै गर्दा सत्ता गठबन्धनका दलहरुले स्थानीय तहको निर्वाचनमा तालमेल गर्न गृहकार्य शुरु गरेका छन् । कञ्चनपुरमा सत्ता गठबन्धनका मुख्य घटकबीच सोमबार कांग्रेसको पार्टी कार्यालयमा बैठक बसेर स्थानीय तहमा तालमेल सफल बनाउने विषयमा छलफल भएको छ ।

बैठकमा सहभागी एक नेताका अनुसार निर्वाचनमा तालमेल गर्ने पार्टी केन्द्रको निर्णयको स्वागत गर्दै यसलाई सफल बनाउन गृहकार्य स्वरुप बैठक बसेको हो । गठबन्धनमा रहेका ५ राजनीतिक दलमध्ये ४ दलका नेता बैठकमा सहभागी थिए । बैठकमा नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र नेकपा माओवादी केन्द्रका नेता सहभागी थिए । वैठकले स्थानीय तहको निर्वाचनमा सहकार्य गर्ने निर्णय गरेको नेकपा माओवादी केन्द्रका कञ्चनपुर संयोजक खेमराज पाण्डेयले बताए । गठबन्धन दलहरुको दोस्रो बैठक बुधबार माओवादी पार्टी कार्यालयमा बस्ने निर्णय भएको छ ।

सो बैठकले जिल्लाभरीको वस्तुगत अवस्थाको विश्लेषण गरी तालमेलबारे ठोस निर्णय लिने सहभागी उनले बताए । पाण्डेयका अनुसार जुन पालिकामा जसको पकड तथा मतभार बढी छ, त्यसकै आधारमा भागबण्डा गर्ने विषयमा सैद्दान्तिक सहभमति बनेको छ ।
बैठकमा नेपाली कांग्रेसका जिल्ला सभापति पदम बोगटी, राजमो जिल्ला अध्यक्ष रामबहादुर कार्की, माओवादी केन्द्रका जिल्ला संयोजक खेमराज पाण्डेय, नेकपा (एकीकृत समाजवादी) का जिल्ला इन्चार्ज लालबहादुर खड्कालगायतको सहभागिता थियो ।

 


२१ चैत २०७८, सोमवार २१:०८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु