कैलालीको कैलारीमा जग्गाको निस्सा वितरण सुरु
कैलालीको कैलारी गाउँपालिकाले जग्गाको निस्सा (ऐलानी, प्रति जग्गा उपभोग गरिरहेको प्रमाण) वितरण कार्य सुरु गरेको छ । राष्ट्रिय भूमि आयोगसंग भएको सम्झौता बमोजिम गाउँपालिकाले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गाको निस्सा वितरण कार्य सुरु गरेको हो ।
बुधबार वडा नम्बर ७ स्थित हौसलपुर र मोहनपुर गाउँका भूमिहीन, अव्यवस्थित बसोबासीलाई निस्सा दिइएको छ । गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरी र उपाध्यक्ष लक्ष्मी सत्गौंवाले स्थानीयलाई निस्सा वितरण गरेर कार्यक्रमको उद्घाटन गरेका थिए ।
सो क्रममा गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले ऐलानी, पर्ती जग्गा कैयौं वर्षदेखि उपभोग गर्दै आए पनि लालपूर्जाबिहीन स्थानीयवासीहरु जग्गाको मालिक बन्ने पहिलो प्रक्रिया सुरु भएको बताए ।
उनले जग्गा जोत, उपभोग गरिरहेका प्रमाण गाउँपालिकाले दिएको बताए । त्यस्तै, गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी सत्गौंवाले जग्गाको निस्सा प्राप्तीले ‘जग्गा मेरो हो’ भनेर ढुक्कका साथ भोगचलन गर्न पाइने बताइन् । उनले जग्गाको लालपूर्जा पाउनका लागि १० वर्षदेखि भोगचलन गरेको हुनु पर्ने र वडा कार्यालयमा कर बुझाइएको हुनु पर्ने बताइन् ।
उपाध्यक्ष सत्गौंवाले गाउँपालिकाको न्यायिक समितिमा बढी जसो ऐलानी पर्ती जग्गाको विवाद आउने गरेको उल्लेख गरिन् । ‘ वडा नम्बर ७ का वडा अध्यक्ष कमलप्रसाद चौधरीले निस्सा पाउने सबैका लागि ऐतिहासिक दिन रहेको बताए । उनले निस्सा वितरणपछि अझै महत्वपूर्ण र जटिल कार्य बाँकी रहेको उल्लेख गरे ।
गाउँपालिकाले पहिलो चरणमा हौसलपुरका २८ र मोहनपुरका ६० गरी ८८ परिवारलाई जग्गाको निस्सा वितरण गरेको छ । निस्सा पाएपछि स्थानीय खुशी भएका छन् ।
निस्सा वितरण कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर ऐर, गाउँ सभा सदस्यहरु, सबै गाउँका भलमन्साहरु, सामुदायिक वनका पदाधिकारी, वडा कार्यालयका कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।वडा सदस्य मुसम्फीदेवी चौधरीले स्वागत गरेको कार्यक्रमको सञ्चालन गाउँपालिकाका सामाजिक शाखा प्रमुख यगम कलेलले सञ्चालन गरेका थिए ।
२ चैत २०७८, बुधवार १८:३० बजे प्रकाशित













