महिला कार्यस्थलमै सुरक्षित नभएको गुनासो
महिला अझै पनि कार्यस्थलमै असुरक्षित हुनेपर्ने अवस्था रहेको उनीहरुले बताएका छन् ।
मंगलबार धनगढीमा मिडिया एडभोकेसी ग्रुप सोलिडारिटी सेन्टरद्वारा आयोजित हिंसामुक्त कार्यस्थलको आवश्यकता विषयक कार्यक्रममा सहभागीहरुले कार्यस्थलमा पनि महिला विभिन्न किसिमका हिंसा भोग्न बाध्य रहेको बताएका हुन् ।
हरेक कार्यालयमा कार्यरत महिला कुनै न कुनै बहानमा हिंसा खेप्न बाध्य रहेका उनीहरु बताउछन् । कार्यस्थलमा भएका हिंसाहरु अझै पनि बाहिर आउन नसक्दा धेरैले न्याय पाउन सकिरहेका छैनन् ।
अधिवक्ता तथा अधिकारकर्मी रेणु प्रधान श्रेष्ठ कार्यस्थलमा महिलामैत्री वातावरण नभएकोले महिलाहरुले हिंसा भोग्नु पर्ने बताइन् । उनले अझै पनि महिलामैत्री समाज बन्न नसक्दा अझै धेरै महिलाले हिंसा तथा समस्या खेप्नु परेको उनको भनाई छ ।
धनगढी उपमहानगरपालिकाकी न्यायिक समिति सदस्य रत्ना बिष्ट महिलाहरु आर्थिक तथा शैक्षिक रुपले कमजोर भएकै कारण हिंसा सहनु पर्ने बताइन् । उनले हिंसा न्यूनीकरणका लागि महिलालाई शैक्षिक तथा आर्थिक रुपमा सबल बनाउनु पर्नेमा जोड दिइन् ।

नेपाल पत्रकार महासंघ कैलाली शाखा अध्यक्ष हिमाल जोशी महिला हिंसाका स्वरुप परिवर्तन भएको र त्यसलाई न्यूनीकरण गर्न सकारात्मक सोचको आवश्यकता रहेको बताए ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी उपरिक्षक विश्व अधिकारीले पीडितले समयमै प्रहरी कार्यालय तथा सम्बन्धित निकायमा उजुरी दिएमा यस्ता घटनामा कमि आउने बताए । उनका अनुसार कार्यस्थलमा पनि महिलाहरुले नै हिंसा भोग्नु परिहरेको छ ।
कार्यक्रमको सहजीकरण नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका सदस्य उन्नती चौधरीले गरेकी थिइन् । कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग, महिला अधिकारकर्मी, लगायत विभिन्न संघसंस्थाका प्रतिनीधी तथा सञ्चारकर्मीको सहभागिता रहेको थियो ।
१ चैत २०७८, मंगलवार २२:०२ बजे प्रकाशित













